सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेस र पूर्वका केही जिल्लामा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन्।
संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे।
सांसद झाले मधेस प्रदेशका करिब २० जना सांसदले पार्टी सभापति रवि लामिछानेसँग उक्त क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए।
पछिल्लो समय धनुषामा भएको ओम प्रकाशको मृत्यु र त्यसपछिको परिस्थितिप्रति लक्ष्य गर्दै झाले राज्यको सक्रियता र तदारूकतामा कमजोरी देखिएको बताए।
पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उनले गृह प्रशासनको ध्यानाकर्षण गराए।
उनले भने, 'मधेसको विद्यमान सुरक्षा संवेदनशीलतालाई संघीय सरकार र सिंहदरबारले जसरी हेर्नुपर्ने थियो, त्यो पर्याप्त देखिएन भन्ने हाम्रो निष्कर्ष छ। जनकपुर जस्तो प्रमुख सहर अहिले असुरक्षित देखिएको छ, पसल र बजारहरू बन्द छन्, चोक–चोकमा टायर बालेर विरोध भइरहेको छ। यो एक निर्वाचित जनप्रतिनिधिका लागि सुखद् परिस्थिति होइन।'
सांसद झाले नेपाली समाजको ऐतिहासिक धार्मिक तथा सामाजिक सहिष्णुतालाई बिथोल्न खोज्ने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरे।
– न्युज एजेन्सी नेपाल