कोशी तथा मधेसका जिल्लाहरूमा पछिल्लो समय तनाव बढेपछि नेपाल प्रहरीले किरिया बिदा बाहेक अन्य सबै बिदा लिन रोक लगाएको छ।
शान्ति सुरक्षा स्थापनार्थ जनशक्ति कम हुन नदिन प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयले मातहतका सबै इकाईलाई शान्ति र सामाजिक सद्भाव कायम गर्नमा परिचालित हुन, भीड नियन्त्रण क्रममा गैरघातक हतियार प्रयोगमा जोड दिन निर्देशन दिएको छ।
'प्रहरीलाई न्यूनतम बल प्रयोग गर्न र गोली प्रहार नगर्न निर्देशन दिइएको छ,' डिआइजी काफ्लेले भने 'अश्रूग्यास, लाठी चार्ज, हवाई फायर जस्ता गैरघातक शैली अपनाउन भनिएको छ।'
प्रहरीले एसपी भेषराज रिजालको नेतृत्वमा गोलबजार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको छ।