नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूसँग सरकारले सहकार्य गर्दै प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
सुनसरीलगायत जिल्लामा भएका घटनाबारे सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देउवाले सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न आग्रह पनि गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवा उपचारको सिलसिलामा हङकङमा छन्।
यस्तो छ देउवाको भनाइ-
केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो।
म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।
यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु।