नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा विशेष महाधिवेशन नबोलाइने बताएका छन्।
आज च्यासलमा बसेको कार्यदल बैठकपछि पत्रकारहरूसँग कुराकानीका क्रममा उनले भने, ‘विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन डाक्ने कि नडाक्ने भन्नेमा छलफल हुँदा अहिले डाक्नु उपयुक्त हुँदैन भन्ने कुरा भयो, त्यसैले डाकिँदैन।’
उनले नियमित महाधिवेशनमा नेतृत्वको कुरा गर्नु स्वाभाविक हुने पनि बताए।
उनकाअनुसार अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने पनि कुरा भएको छ।
‘अध्यक्षको राजीनामा कहीँकतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने, अध्यक्षको आलोचना नगर्ने कुरा भएको छ,’ उनले भने।
उनले नियमित विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको विषय छलफलको एजेन्डा हुन सक्ने बताए।
साथै उनले ३ नेताले एकीकृत प्रस्ताव ल्याउने पनि बताए।
‘१३ समूहमा सुझाव संकलन गरिएकोमा ती सुझाव अनुसूचीमा समावेश गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब साझा प्रतिवेदन प्रस्तुत हुन्छ।’