राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने बताएका छन्।
शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताए।
‘जति बोल्ने हो, त्यति नै गर्नुपर्छ। जनतालाई झुक्याएर भोट माग्ने राजनीति हामी गर्दैनौँ,’ उनले भने।
उनले अहिले प्राप्त अवसर व्यक्तिगत राजनीतिक स्वार्थका लागि नभई मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि भएको बताए।
जनताको मतको सम्मान नगर्ने र बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले समर्थन फिर्ता लिने उनको भनाइ थियो।
लामिछानेले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना र सुझावलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न पनि आग्रह गरे।
आफ्नै सरकारका काममा कमजोरी देखिए आलोचना र सुझाव दिनु आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनले बताए।
उनले सरकारले प्रतिबद्धताअनुसार काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे।
छठ पर्वको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राखेर सरकारले सार्वजनिक बिदा दिएको पनि उनले बताए।