राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन्।
कार्कीलाई विश्वव्यापी जनस्वास्थ्य तथा संसदीय नेतृत्वमा सक्रिय संस्था ‘युनाइट पार्लियामेन्टेरियन्स नेटवर्क फर ग्लोबल हेल्थ’ ले संसदीय प्रतिनिधिमण्डलमा सहभागी हुन विशेष निमन्त्रणा दिएको उनको सचिवालयले जनाएको छ।
नोभेम्बर १८ र १९ मा फिलिपिन्स सरकारको आयोजनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको सहआयोजनामा सम्मेलन हुँदैछ।
त्यसअघि नोभेम्बर १६ मा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा संसदीय नेतृत्व कार्यक्रम आयोजना हुनेछ।
कार्यक्रममा विभिन्न देशका सांसद तथा विज्ञहरूले बालबालिकाको स्वास्थ्य र सुरक्षाका लागि आवश्यक कानुनी व्यवस्था, वित्तीय स्रोत र संसदीय निगरानीबारे छलफल गर्नेछन्।