नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले विशेष महाधिवेशनको नेतृत्व नगर्ने स्पष्ट पारेका छन्।
केन्द्रीय कमिटीको बुधबारको बैठकमा धारणा राख्ने क्रममा महासचिव पोखरेलले पार्टीभित्र विग्रह आउने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने बताए।
त्यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर आफू अध्यक्ष बन्ने पक्षमा नरहेकोसमेत उनले बताएका छन्।
‘पार्टीभित्र असहमति उत्पन्न हुने गरी, पार्टीमा विग्रह आउने गरी विधान अधिवेशन के भन्छ, यो विशेष महाधिवेशन गर्ने कुराको नेतृत्व मबाट हुँदैन,’ उनले भनेका थिए।
त्यस्तै, आफू अध्यक्ष बन्न खोजेको भन्ने चर्चाको खण्डन गर्दै उनले भनेका थिए, ‘तपाईंको असहमतिमा अहिले चर्चामा छ—शंकर पोखरेलले अध्यक्ष बन्न खोज्दैछ। म अध्यक्ष बन्दिनँ।’
अब हामी महासचिव पोखरेलले राखेका ५ मुख्य धारणाबारे चर्चा गरौं-
१. विशेष महाधिवेशनको नेतृत्व नगर्ने
महासचिव पोखरेलले पार्टीभित्र असहमति र विग्रह उत्पन्न हुने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने स्पष्ट गरेका छन्। उनले आफू पार्टी अध्यक्ष बन्ने उद्देश्यमा नरहेको समेत प्रस्ट पारेका छन्।
२. कार्यदलको १७ नम्बर बुँदाबारे स्पष्टीकरण
पोखरेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनको १७ नम्बर बुँदाबारे पनि चर्चा गरेका छन्।
उक्त बुँदालाई लिएर अध्यक्ष ओलीले आफूलाई हटाउन खोजिएको अर्थमा बुझेको र त्यसबाट अध्यक्ष र महासचिवबीच अविश्वास पैदा भएको उनले स्वीकार गरेका छन्।
तर आफ्नो वास्तविक आशय अध्यक्षलाई हटाउने नभएको स्पष्ट पार्दै उनले भने, ‘अहिलेको अवस्थामा विशेष महाधिवेशनमा जानु हुँदैन भन्ने त्यस अर्थमा पुनर्गठन चाहिँ पार्टी केन्द्र स्वयं आफैले गर्नुपर्दछ भन्ने अर्थमा मैले त्यसलाई व्याख्या गर्न खोजेँ।’
उनले आफूले भन्न खोजेको एउटा तर त्यसको सन्देश अर्को गएर त्यसले समस्या उत्पन्न गरेको पनि बताए।
३. पुनर्गठनलाई नेतृत्व परिवर्तनमा मात्र सीमित गर्न नहुने
पोखरेलले पार्टी पुनर्गठनको अर्थ केवल अध्यक्ष वा नेतृत्व परिवर्तन गर्नु मात्र नभएको बताएका छन्। उनले वैचारिक, राजनीतिक तथा संगठनात्मक सुधारलाई पनि पुनर्गठनको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार पुनर्गठनको बहसलाई व्यक्तिकेन्द्रित बनाउँदा पार्टीभित्र मनोवैज्ञानिक विभाजनसमेत उत्पन्न भएको छ।
‘पुनर्गठनलाई नेतृत्वको साँघुरो अर्थमा मात्रै हेर्नु हुँदैन भन्ने मलाई लाग्दछ। समग्रतामा पार्टीलाई कसरी रिफर्म गर्ने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्दथ्यो, हामी बहस व्यक्तिकेन्द्रित जस्तो बन्न पुग्यो,’ उनले भने।
४. ओली नेतृत्वका उपलब्धिलाई पार्टीको राजनीतिक पुँजीका रूपमा स्वीकार
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका कामहरूको सकारात्मक मूल्यांकन गर्दै ती कामलाई पार्टी र आन्दोलनको पुँजीका रूपमा प्रस्तुत गरेका छन्।
तर ती उपलब्धि हुँदाहुँदै पनि पछिल्लो निर्वाचनमा जनताले पार्टीलाई अपेक्षित समर्थन नदिनुको कारण गम्भीर रूपमा खोजिनुपर्ने उनको भनाइ छ। ‘पार्टी अध्यक्षको नेतृत्वमा हामीले गरेका कामहरू चाहिँ हाम्रो आन्दोलनका पुँजी हुन् त!’ उनले भने।
उनले पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक संश्लेषण र नेतृत्वको जिम्मेवारी अध्यक्ष ओलीकै भएको बताएका छन्।
‘त्यसलाई संश्लेषण गरेर पार्टीलाई सही दिशा प्रदान गर्ने खालको कामको नेतृत्व चाहिँ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुपर्दछ,’ उनले भने।
५. पार्टीभित्र एकता कायम गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने
पोखरेलले पार्टीभित्रको पुरानो विभाजन र महाधिवेशनकालीन मनोविज्ञान अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीलाई जनतासँग पुनः जोड्न तथा कार्यकर्ता पंक्तिको मनोबल उच्च बनाउनुपर्ने बताएका छन्।
‘कमिटीलाई बलियो बनाऔं, जनतासँगको सम्बन्धलाई बलियो बनाऔं, कार्यकर्ता पंक्तिमा विश्वास जागृत गरौं र सिंगो पार्टी पंक्तिलाई आजका चुनौतीहरू सामना गर्ने ढंगले एकताबद्ध बनाऔं,’ उनले भने।
यस्तो छ महासचिवको धारणा पूर्णपाठ-
बैठकको अध्यक्षता गरिरहनुभएका अध्यक्ष कमरेड, पार्टीका उपाध्यक्ष कमरेडहरू, उपमहासचिव तथा सचिव कमरेडहरू, बैठकमा सहभागी सम्पूर्ण प्रिय कमरेडहरूमा सबैभन्दा पहिले त म तपाईंहरू सबैलाई आफ्नो तर्फबाट र सिंगो पार्टी केन्द्रीय कमिटीकै तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु।
र पार्टी अध्यक्षले भन्नुभएजस्तै यो बैठकका सन्दर्भमा र विशेषगरी पार्टीको आठौँ केन्द्रीय सचिवालयले गठन गरेको कार्यदल, त्यससँग सम्बन्धित जोडिएर चलिरहेका चर्चा–परिचर्चा र हिजो बैठकका सन्दर्भका बारेमा चलिरहेका चर्चा–परिचर्चामा आधारित रहेर म केही कुराहरू कमरेडका बीचमा राख्ने अनुमति चाहन्छु।
वास्तवमा आम निर्वाचनपछि पार्टीले जुन प्रकारको परिणाम प्राप्त गर्यो, पार्टी जीवनमा अकल्पनीय, पीडाजनक परिणाम थियो भन्ने कुरा तपाईं–हामी सबैलाई थाहा छ।
हाम्रो अवस्था कस्तो थियो भन्दाखेरि मतदानका दिन सबैतिर मतदान भइसकेपछि मैले प्रदेश कमिटीका अगुवा नेता कमरेडहरूसँग रिपोर्ट लिँदाखेरि ७९ को निर्वाचनभन्दा राम्रो परिणाम आउने रिपोर्ट गरिराख्नुभएको थियो।
अहिले पनि मलाई सम्झना छ, कुन प्रदेशले कति संख्यामा अनिवार्य जितिन्छ भनेर बताउनुभएको थियो भन्ने कुरा पनि झलझली सम्झना छ।
तर परिणाम के आयो भन्ने कुरा जब बाकस खोल्न थालियो, हामी सबै हतप्रभ भयौँ।
त्यसपछि स्वाभाविक रूपमा पार्टीले गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने स्थिति उत्पन्न भयो। जनताको बदलिएको मनोविज्ञानलाई बुझ्न नसक्ने अवस्थामा हामी कसरी पुग्यौँ?
जनताले हामीलाई छोडिसकेका रहेछन्, तर जनता हाम्रा साथमा छन् भन्ने हामीले ठानिरह्यौँ। जनताको मन पढ्न नसक्ने अवस्थामा यो पार्टी, जुन पार्टीलाई हामी जनतामा आधारित कार्यकर्ताको पार्टी भनेर भन्ने गर्दछौँ, यो पार्टीको हालत किन यस्तो भयो भन्ने कुरा चाहिँ चिन्ताको विषय हो भन्ने मलाई लाग्दछ।
यही बिन्दुबाट हाम्रो पार्टी कामको समीक्षा सुरु हुन्छ भन्ने म ठान्दछु।
जुन पार्टी हामी गर्व गर्दछौँ, एसियामा सबैभन्दा सुसंगठित पार्टी नेकपा एमाले भनेर भन्ने गर्दछौँ, गर्व गर्दछौँ, त्यो पार्टीको मतदानपछाडिको विश्लेषण यति कमजोर, यति सतही कसरी हुन सक्दछ?
त्यस अर्थमा हाम्रा कहीं न कहीं कमजोरीहरू छन्, ती कमजोरीहरू खोजी गर्नुपर्दछ र त्यसको समाधान गर्नुपर्दछ भन्ने कोणबाट चाहिँ पार्टीले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्ने गरी कार्यदल गठन गर्यौँ।
कतिपय कमरेडले भन्दै हुनुहुन्छ, अहिले चाहिँ आम रूपमा भेटघाट हुँदाखेरि सबै कमरेडको भनाइ के छ भन्दाखेरि अध्यक्ष र महासचिव त मिल्नुपर्यो भनेर भन्नुहुन्छ। नमिल्नेको कहाँ छ र?
अहिले पनि म के विश्वास गर्दछु भन्दाखेरि चलिरहेका बहसहरूका सन्दर्भमा कुराकानी गर्दाखेरि पत्रपत्रिकामा, आमसञ्चार माध्यममा के के भनिएको छ भन्ने कुरा म जान चाहन्न। मैले पार्टी अध्यक्षलाई पनि भनेको हुँ, तीनवटा काम मबाट हुँदैन।
किनकि तपाईंसँग म सँगै बसेर काम गरेको छु। तपाईंलाई अभियोग लगाउने काम मबाट हुँदैन। किनकि हरेक जंक्चरमा साथमा भएको व्यक्तिले तपाईंलाई अभियोग लगाउन सक्दछ? अभियोग लगाउने काम मबाट हुँदैन।
दोस्रो कुरा, पार्टीभित्र चाहिँ असहमति उत्पन्न हुने गरी, पार्टीमा विग्रह आउने गरी विधान अधिवेशन के भन्छ, यो विशेष महाधिवेशन गर्ने कुराको नेतृत्व मबाट हुँदैन।
र तेस्रो कुरा, मैले पार्टी अध्यक्ष कमरेडलाई भनेको थिएँ, तपाईंको असहमतिमा अहिले चर्चामा छ, शंकर पोखरेलले अध्यक्ष बन्न खोज्दैछ। म अध्यक्ष बन्दिनँ। यति स्पष्ट कुरा गर्दाखेरि पनि ममाथि एउटा आरोप लागिरह्यो।
वास्तवमा त्यो आरोप चाहिँ मेरो भावनाका विपरीतको आरोप थियो भन्ने कुरा चाहिँ अध्यक्ष कमरेडलाई पनि मैले बताउन सकिनँ र सायद तपाईंहरूमध्ये धेरैलाई मैले बताउन सकिनँ।
अर्को कुरा, कार्यदलका तर्फबाट मैले १३ वटा समूहका भावनाहरूलाई जस्ताको तस्तै उतार गरेँ। त्यसका पछाडि रामबहादुर कमरेड र पीएस कमरेड बसेर हामी सल्लाह गर्यौँ, तलबाट जे सुझाव आए, ती सुझावहरू जस्ताको तस्तै राखौँ। तर पार्टी कसरी चलाउने भन्ने कुराका सन्दर्भमा चाहिँ फेरि तल जे आयो, त्यही आधारमा पार्टी चल्छ भन्ने कुरा त होइन, बसेर छलफल गरौँला, त्यसका आधारमा निष्कर्ष निकालौँला भन्नुभयो। मैले त्यही आधारमा प्रतिवेदन तयार गर्ने काम गरेँ।
मैले तयार गरेको प्रतिवेदनका दुईवटा बुँदाहरूले अविश्वास पैदा गर्यो। अहिले पार्टी अध्यक्ष र महासचिवका बीचमा किन सम्बन्ध बिग्रियो भन्ने खालको कुरा बारम्बार कमरेडहरूले सोध्ने गर्नुहुन्छ। ती दुईवटा बुँदाले अविश्वास पैदा गर्यो। ती दुईवटा बुँदा कुन थिए भन्दाखेरि एउटा चाहिँ १७ नम्बर बुँदा थियो।
१७ नम्बर बुँदा मैले एउटा स्पिरिटमा लेखेँ, अहिलेको अवस्थामा विशेष महाधिवेशनमा जानु हुँदैन भन्ने। त्यस अर्थमा पुनर्गठन चाहिँ पार्टी केन्द्र स्वयं आफैँले गर्नुपर्दछ भन्ने अर्थमा मैले त्यसलाई व्याख्या गर्न खोजेँ। तर त्यसले एक प्रकारको भ्रम सिर्जना गर्यो। पार्टी अध्यक्ष कमरेडको बुझाइ के रह्यो त भन्दाखेरि यो चाहिँ अध्यक्षलाई छोड भन्न खोज्या हो भन्ने अर्थमा उहाँले व्याख्या गर्नुभयो। त्यसैको प्रभाव चाहिँ अध्यक्ष र मेरो सम्बन्धमा पर्यो।
मैले गर्न खोज्ने कुरा एउटा, त्यसको सन्देश अर्को भयो। त्यसले समस्या उत्पन्न गर्यो।
अब पुनर्गठन भन्ने कुराका सन्दर्भका बारेमा अध्यक्ष कमरेडको जबरदस्त एउटा मान्यता के रह्यो त भन्दाखेरि अहिले उहाँले दस्तावेजमा पनि लेख्नुभएको छ, तेस्रो महाधिवेशन, त्यसपछि झापा विद्रोह र दशौँ महाधिवेशनको पूर्वसन्ध्या मात्रै पुनर्गठन हो भन्ने पार्टी अध्यक्ष कमरेडको विश्लेषण छ। त्यो नेतृत्व परिवर्तनका सन्दर्भको पुनर्गठनका रूपमा उहाँले त्यसलाई उल्लेख गर्न खोज्नुभएको छ भन्ने मलाई लाग्दछ।
तर हाम्रो पार्टीको जीवनमा चाहिँ म अलि फरक ढंगले सोच्दछु यस मामिलामा। ३७ सालमा तत्कालीन मालेले वैचारिक रूपमा गरेको बहस, छलफल र निष्कर्षहरू पनि वैचारिक पुनर्गठन नै हुन् भन्ने म ठान्दछु, जसले झापा विद्रोहकालीन समयका उग्रवामपन्थी अतिवादी भूलहरूलाई सच्याएर पार्टीलाई जनआन्दोलन र जनसंघर्षको दिशामा अगाडि बढाउने निर्णायक भूमिका खेल्या थियो। त्यो आफैँमा एउटा वैचारिक पुनर्गठन हो भन्ने लाग्दछ।
अर्कोतिर पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवादले पार्टी जीवनको लोकतान्त्रिकरण त गर्यो, तर संगठन प्रणाली चाहिँ परम्परागत नै थियो। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा कमरेड अध्यक्षको नेतृत्वमा हामीले पार्टी जीवनको लोकतान्त्रिकरणका रूपमा चाहिँ बहुपदीय संरचनासहितको संगठनात्मक प्रणालीको विकास गर्यौँ। त्यो आफैँमा संगठनात्मक पुनर्गठन थियो।
जसले हाम्रो पार्टी जीवनलाई नयाँ आयाम दिए, नयाँ उचाइ दिए भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ। त्यस अर्थमा पुनर्गठनलाई नेतृत्वको साँघुरो अर्थमा मात्रै हेर्नुहुँदैन भन्ने मलाई लाग्दछ।
अहिले हामीले पुनर्गठन गर्नेबित्तिकै बहस कहाँ सुरु भयो त भन्दाखेरि अध्यक्षका प्रश्नमा केन्द्रित भयो। वास्तवमा त्यो गलत थियो। बहसलाई अध्यक्षका प्रश्नमा केन्द्रित गर्ने कुरा चाहिँ गलत कुरा थियो। समग्रतामा पार्टीलाई कसरी रिफर्म गर्ने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्दथ्यो। हामी बहस व्यक्ति केन्द्रित जस्तो बन्न पुग्यो। त्यसैले गर्दाखेरि पार्टी पंक्तिमा एक प्रकारको मनोवैज्ञानिक विभाजन हुन पुग्यो। आज हामी त्यसैको एउटा मनोविज्ञानको असर बोकेर यहाँ बस्या छौँ।
हिजो पार्टी अध्यक्ष कमरेडले कार्यक्रम सञ्चालन गरिरहँदाखेरि पनि अस्वाभाविक लाग्यो धेरै कमरेडहरूलाई। पार्टी विधानले के भन्छ? अहिले हामी जे गरिरहेका छौँ, पार्टी विधानले त्यही भन्छ। मन मिल्दाको व्यवहार के गर्दथ्यौँ, विगतदेखि गर्दै आएका छौँ। त्यस अर्थमा कसैले व्यवहार खोज्ने, कसैले विधान खोज्ने खालको स्थिति पार्टीमा बन्नु राम्रो होइन। कोही व्यवहारवादी हुने, कोही चाहिँ विधानवादी हुने भन्ने खालको कुरा सामान्यतः के हुन्छन्? मन मिल्यो भने विधान खोजिँदो रहेनछ, मन मिलेन भने विधान खोजिँदो रहेछ। हिजो त्यही भयो भन्ने मलाई लाग्दछ। मन मिलेन, विधान खोज्ने काम भयो। नत्र स्वाभाविक रूपमा के हुन्छ भन्दाखेरि बैठक सञ्चालन गर्नका लागि अध्यक्षले समग्र टिमको सहयोग लिने परम्परा त सधैँ छ त।
हिजो पनि हामीले विधानमा के छ भन्ने कुरा त हेरेनौँ। माइन्युट कमिटी बनायौँ, बहस नोट कमिटी बनायौँ। विधानमा त लेख्या छैन, त्यो त व्यवहारको कुरा हो। त्यस अर्थमा चाहिँ म के ठान्दछु भन्दाखेरि यस्तो कुरालाई पनि हामीले धेरै तनावको विषय नबनाऔँ, किनकि हाम्रा बीचमा अब अध्यक्ष र महासचिवका बीचमा मन फाट्या अवस्थामा एक प्रकारको अनुभूति भाछ।
तर यसले पार्टी बन्छ कि बन्दैन भन्दाखेरि बन्दैन। पार्टी बनाउने बाटोतर्फ हामी सबै लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ। अब पार्टी अध्यक्ष कमरेडले प्रस्तुत गरेको प्रतिवेदनभित्र चाहिँ एउटा विषय उहाँले मेन्सन गर्नुभएको छ। म अत्यन्त खुसी भाछु। त्यो विषय के हो त भन्दाखेरि, रियलाइजेसन गर्ने सामर्थ्य यो पार्टीसँग छ भन्ने कुरा नै यतिबेलाका सन्दर्भमा भन्ने हो भने सबैभन्दा बोल्ड एउटा निष्कर्ष हो भन्ने मलाई लाग्दछ। रियलाइजेसन गर्ने सामर्थ्य यो पार्टीसँग छ, म पनि विश्वास गर्छु।
त्यो रियलाइजेसन गर्ने सामर्थ्यलाई अहिलेको समयमा प्रयोग गर्नुपर्दछ, कार्यकर्ता पंक्तिमा उत्साह भर्नका लागि भन्ने कुरा नै मेरो आफ्नो कुरा हो। त्यसले नै पार्टी निर्माण हुन्छ भन्ने कुरा हो। त्यस अर्थमा अहिलेको अवस्थामा पार्टी अध्यक्ष कमरेडले जे दृष्टिकोण प्रस्तुत गर्नुभएको छ, यो पार्टीसँग रियलाइजेसन गर्ने सामर्थ्य छ भन्ने कुराका आधारमा अगाडि बढ्यो भने धेरै कुराहरू हल हुन्छन् भन्ने मलाई लाग्दछ।
त्यस अर्थमा यो बैठकमा धेरै तनावको विषय बनाउनुपर्ने, असमझदारीको विषय बनाउनुपर्ने विषय म केही पनि देख्दिनँ। हो, हामीभित्र महाधिवेशनका समयको एउटा मनोविज्ञान रहिरह्यो, त्यसलाई हामीले जोड्न सक्या छैनौँ। कमरेडहरूका गुनासाहरू छन्। कार्यदल गठन भएपछि अर्को मनोविज्ञान तयार भाछ। त्यो मनोविज्ञानलाई पनि जोड्न सकेनौँ भने त्यसले के गर्दछ? पार्टीलाई कमजोर बनाउँछ।
त्यस अर्थमा मेरो आग्रह के छ भन्दाखेरि, सिंगो पार्टी कमिटीसँग महाधिवेशनका समयको मनोविज्ञान महाधिवेशनकै समयमा सिद्धियो। अब हरकोही यो पार्टी निर्माणका लागि योग्य छ, सक्षम छ भन्ने भावनाका आधारमा एउटै स्पिरिटमा हिँड्नका लागि हामी तयार हुनुपर्दछ भन्ने मलाई लाग्दछ। केही कमी छन् भने सुधार गरौँ, तर महाधिवेशनको मनोविज्ञान अब बोकेर हिँडिरहने कुरा चाहिँ आजका चुनौतीका परिप्रेक्ष्यमा उपयुक्त कुरा होइन।
महाधिवेशनका समयमा हामी बहस गर्यौँ होला, विवाद गर्यौँ होला, प्यानल बनायौँ होला, तर त्यसलाई सधैँभरि बोकेर हिँड्ने खालको कुरा चाहिँ उचित हुँदैन। किनकि आजका चुनौतीहरू चाहिँ अत्यन्त गम्भीर छन्, अत्यन्त चुनौतीपूर्ण छन्। म त के ठान्दछु भन्दाखेरि, हाम्रो भाग्य र भविष्य के हुने हो भन्ने कुरा चाहिँ तय नै भाछैन। अहिले जुन प्रकारको सरकार बन्या छ, उसले जुन ढंगले सोचिरहेको छ, जस्तो प्रकारको भूराजनीति छ, त्यो परिप्रेक्ष्यमा यो आन्दोलनको भविष्य के हुने हो, यो पार्टीको भविष्य के हुने हो, हाम्रा नेता–कार्यकर्ताहरूको भविष्यको यात्रा कस्तो हुने हो भन्ने कुरा नै जोखिममा छ। यस्तो जोखिमको क्षणमा समग्र पंक्तिलाई एकताबद्ध गरिकन नयाँ सिराबाट अगाडि बढ्दछौँ भन्ने संकल्प गर्ने बेलामा हामीले एकले अर्कामाथि कटाक्ष गर्ने कुरा उचित हुन सक्दछ र? किमार्थ हुन सक्दैन।
त्यस अर्थमा चुनौतीलाई सामना गर्न अगाडि बढ्ने खालको कुरामा पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्दछ भन्ने खालको कुरा म कमरेडका बीचमा राख्न चाहन्छु।
अहिले हाम्रा प्रस्तुत १३ मा स्वाभाविक रूपमा चाहिँ विभाजित मनोविज्ञानले काम गरिराख्या छ। हो, हामी छलफल–बहसका क्रममा चाहिँ आफ्ना–आफ्ना राय राख्यौँ होला, तर निष्कर्षमा पुग्ने बेला त हामी फरक–फरक राय बोकेर निष्कर्षमा पुग्ने त होइन। त्यसलाई त एउटै रायमा बदल्नुपर्दछ, पार्टी निर्णयमा बदल्नुपर्दछ। त्यसका आधारमा पार्टीलाई अगाडि बढाउने खालको काम गर्नुपर्दछ भन्ने मलाई लाग्दछ।
हो, अहिले हाम्रा सामु पपुलिजम, एनार्किजम, अपर्चुनिजमको जगमा खडा भएको जुन बालेन नेतृत्वको सरकार छ, त्यो सामान्य सरकार होइन। भाद्र २३ र २४ को घटनालाई हामीले प्रतिगमनतर्फको यात्राका रूपमा चित्रण गर्यौं। त्यो यात्रा अन्त्य भएको छैन। असोज १८ र माघ १९ भनेर भन्ने गर्दछौं। त्यसलाई हामी असोज १८ भन्ने हो भने माघ १९ को जोखिम बाँकी नै छ, अन्त्य भएको छैन।
र हामीले के कुरा गर्नुपर्दछ भन्दाखेरि, असोज १८ पछाडि हाम्रै पार्टी जीवनमा सात राजनीतिक दलहरूले निरन्तर आन्दोलन गर्न खोज्दाखेरि जनताको साथ पाएनौं। झन्डै एक महिना आन्दोलन गर्यौं। प्रतिगमन आदि सच्चियो भनेर चाहिँ हामी आन्दोलनबाट बाहिरियौं, सरकारमा सामेल भयौं। तर प्रतिगमन झन् फणा फैलाएर चाहिँ माघ १९ का रूपमा प्रकट भयो। नेताहरू गिरफ्तार हुने, पार्टी प्रतिबन्धित हुने, सबै चिज हामीले व्यहोर्यौं।
त्यतिबेला हामीले एउटा संकल्प गर्यौं, अठोट गर्यौं—अब कहिल्यै नखोसिने लोकतन्त्रका लागि लड्दछौं, विगतका जस्ता गल्ती गर्ने छैनौं भन्ने संकल्प गर्दाखेरि जनताले विश्वास गरे, भरोसा गरे र मुलुकमा १९ दिने जनआन्दोलन भयो। हामी राष्ट्रिय राजनीतिको एउटा महत्वपूर्ण शक्तिका रूपमा लोकतान्त्रिक शक्तिलाई स्थापित गर्न, मुलुकलाई गणतन्त्रतर्फ लैजान सफल भयौं।
त्यस अर्थमा के हुन्छ भन्दाखेरि, ठूला-ठूला घटना घटिसकेपछि, दुर्घटनाहरू भइसकेपछि रिभ्युको आवश्यकता पर्दछ, आत्मसमीक्षाको आवश्यकता पर्दछ, रियलाइजेसनको आवश्यकता पर्दछ। त्यसको जगमा ताकत निर्माण हुन्छ, त्यो ताकतको बलमा पार्टी अगाडि बढ्दछ। यतिबेला पार्टीका लागि त्यो चिज आवश्यक छ भन्ने खालको महसुस पार्टी पंक्तिले गर्नुपर्दछ भन्ने मलाई लाग्दछ। आजको आवश्यकता के हो त भन्दाखेरि, त्यही कुरा नै हो।
अब मैले देखेको दुई-तीनवटा कुरा म कमरेडका बीचमा राख्न चाहन्छु। एउटा पक्ष के हो त भन्दाखेरि, पार्टी अध्यक्षको नेतृत्वमा हामीले गरेका कामहरू चाहिँ हाम्रो आन्दोलनका पुँजी हुन् त?
एक प्रकारले भन्नुहुन्छ भने, संविधान सभाको समयमा मुलुकलाई अस्थिरतातर्फ लैजानका लागि, अराजकतातर्फ लैजानका लागि, मुलुकलाई अप्ठ्यारो बाटोमा लैजानका लागि जातीय र क्षेत्रीय अतिवादका विरुद्ध तिखो वैचारिक संघर्षको नेताका रूपमा हामीले केपी कमरेडलाई पाएको हो नि, त होइन र? त्यतिबेला त उहाँ एमालेको मुख्य नेता हुनुहुन्थेन।
तर विचारमा उहाँले नेतृत्व गर्नुभयो, राष्ट्रले उहाँलाई नेता स्वीकार गर्यो, पछि पार्टीले पनि उहाँलाई नेताका रूपमा स्वीकार गर्यो। कहिलेकाहीँ समाजमा उठिरहेका मुद्दाहरूलाई ठीक ढंगले सम्बोधन गर्न सक्यो भने त्यसको जगमा नेतृत्वको निर्माण हुन्छ भन्ने कुराको दृष्टान्त अध्यक्ष स्वयं आफैं हो।
त्यतिबेला पार्टीले घोषणा गरेर सबै काम गर्या त थिएन नि त। तर पनि उहाँले त्यो वैचारिक नेतृत्व गर्नुभयो, हामी सबैले साथ दियौं र उहाँकै वैचारिक नेतृत्वमा मुलुकलाई जातीय द्वन्द्वबाट मुक्त गर्न सकियो, संविधान सभालाई सफल बनाउन सकियो। भन्दाखेरि, समाजमा चलिरहेको अन्तरसंघर्षलाई पहिचान गर्ने कुरा, त्यसका आधारमा समाधान खोज्ने कुरा चाहिँ पार्टी जीवनको लागि चाहिँ अत्यन्त महत्वपूर्ण कुरा हो।
म कमरेडलाई सुनाउन चाहन्छु, पार्टी अध्यक्ष प्रधानमन्त्री भइसकेपछि हामीले गरेका कामहरू कति महत्वपूर्ण छन् भन्नु त। चाहे त्यो नाकाबन्दीको सामना गर्ने कुरा होस्, चाहे जनताका मुर्झाएका सपनाहरूलाई जागृत गर्ने कुरा होस्, चाहे नेपालको देशभक्तिपूर्ण आन्दोलनका सन्दर्भका बारेमा अडान लिने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरा होस्, चाहे पूर्वाधार विकासका सन्दर्भमा रणनीतिक आयोजनाहरूलाई अगाडि बढाउने कुरा होस् वा सामाजिक सुरक्षालाई विस्तार गर्ने कुरा होस्—अध्यक्ष कमरेडको नेतृत्वमा धेरै महत्वपूर्ण कामहरू भए। हामीले त्यसको पटक-पटक चर्चा गर्यौं।
तर जनताले पछिल्लो समयको चुनावमा ती एजेन्डामा छलफल गर्नै चाहेनन्, सुन्नै चाहेनन्। यो त सत्य हो नि। के कारणले जनता टाढिए भन्ने कुराको विश्लेषण हामीले गर्नुपर्ला कि नपर्ला?
यति राम्रो काम गरेको पार्टी, त्यति महत्वपूर्ण योगदान गरेको पार्टी निर्वाचनमा जुन प्रकारको परिणाम प्राप्त भयो, त्यसको कारण के हो भन्ने कुरा खोजी गर्नु त पर्ला नि त। त्यो खोजी गर्ने क्रममा मेरो चाहिँ आफ्नो बुझाइ के हो त भन्दाखेरि, हामीले पछिल्लो समयमा गरेको प्रगतिसँग जोडिएर भन्नुहुन्छ भने नेपाली समाजमा जबरदस्त रूपमा उपभोक्तावादको विकास भयो।
उपभोक्तावाद सूचना प्रविधिको क्रान्तिले पनि विकास गरिदियो, वैदेशिक रोजगारीका कारणले पनि विकास भयो। हामीले निर्माण गरेका जुन पूर्वाधार विकास छ, सामाजिक विकास छ, यो कुरासँग पनि जोडियो। र मान्छे उपभोक्तावादी हुँदाखेरि के भयो भन्दाखेरि धेरैभन्दा धेरै खर्च गर्ने भए। सोअनुसारको आम्दानी हुन नसक्दाखेरि चाहिँ जब आम्दानी र खर्चका बीचमा ग्याप हुने गर्दछ, त्यसले समाजमा विचलन पैदा गर्दो रहेछ। त्यो विचलन भ्रष्टीकरणका रूपमा, त्यो विचलन एनार्किजमका रूपमा, त्यो विचलन तस्करतन्त्रका रूपमा, कालोबजारीका रूपमा, डनगिरीका रूपमा, वैदेशिक पलायनताका रूपमा देखा परेर त्यसको समग्र मार कसलाई पर्यो त भन्दाखेरि राज्यलाई पर्यो। राज्यका कारणले गर्दाखेरि हामी समस्यामा पर्यौं भन्ने प्रकारको जे अनुभूति आम नागरिकका बीचमा पैदा भयो, त्यो चिजले पपुलिजमलाई भन्नुस्, प्रवर्द्धन गर्ने काम गर्यो।
मान्छे असन्तुष्ट नभएको भए पपुलिजम यस रूपमा फैलिने थिएन। मान्छेको असन्तुष्टिका कारणहरू पहिचान गर्नुपर्दछ। अब हामीले एल्गोरिदमका कारणले मात्रै सबै चिज भए भन्ने कुराको निष्कर्ष निकाल्न थाल्ने हो भने हामी कहिल्यै पनि सफल हुन सक्दैनौं, किनकि सूचना प्रविधिको हतियार त पुँजीवादी, साम्राज्यवादीहरूसँगै हातमा ज्यादा छ।
त्यस अर्थमा हामीले हाम्रो वैचारिक धरातलबाट यी चिजहरूलाई सामना गर्ने सामर्थ्य निकाल्नुपर्दछ भन्ने मलाई लाग्दछ। हो, स्वाभाविक रूपमा अध्यक्ष कमरेडको प्रतिवेदनमा एउटा महत्वपूर्ण विषय मेन्सन भाछ। त्यो विषय के हो त भन्दाखेरि, आज बदलिएको समाज, सूचना प्रविधि आधारित समाजका परिप्रेक्ष्यमा हाम्रो वैचारिक जुन धार छ, त्यसलाई माझ्नुपर्ने भाछ।
अध्यक्षले आफ्नो सम्बोधनमा यो विषयलाई महत्वका साथ उठाउनुभएको छ। आज युवा पुस्ता हामीसँग किन जोडिन सक्या छैन भनेर भन्दाखेरि, हामीले यो सूचना प्रविधिको क्रान्तिपछाडिको नयाँ पुस्ताको मनोविज्ञान कुन रूपमा विकसित भइरहेको छ र त्यसलाई मार्क्सवादसँग कसरी जोड्ने भन्ने कुराका बारेमा चाहिँ गम्भीरतापूर्वक छलफल, बहस गर्नै सकेनौं।
प्राविधिक योजना त बनायौं। कहिले मिसन ग्रासरुटमा वडा–वडामा कार्यकर्ता, युवाहरू भेला गर्ने भन्यौं, कहिले चाहिँ पालिकामा भेला गर्ने भन्यौं, कहिले चाहिँ आरक्षणको नीति ल्यायौं। कार्यक्रमिक योजना नबनाएको होइन। हाम्रो जस्तो पार्टीले जति काम युवाहरूका लागि लक्षित गर्न खोज्यो, त्यो काम अरू कसैले गर्यो कि गरेन भन्दाखेरि गर्दै गरेन।
तर पनि हामीले युवालाई जोड्न सक्या छैनौं। युवालाई जोड्न नसक्ने हो भने हाम्रो आन्दोलनको भविष्य के हुन्छ? भन्नु त हामी पाका पुरानाहरूले राजनीति गर्ने थलोका रूपमा रहन्छ, त्यो विजेता त बन्न सक्दैन। विजेता बन्ने हो भने युवाहरूको बीचको काममा जानै पर्दछ। त्यो जाने भनेको के हो भन्दाखेरि उनीहरूको मन जित्ने गरी जाने हो नि, कार्यक्रम बनाएर मात्रै त हुँदो रहेनछ।
यो चिज पनि आजको हाम्रो चुनौती हो भन्ने मलाई लाग्दछ। पार्टीले बनाएका योजनाहरूमा हामी कुन रूपमा गएका छौं भन्ने कुरा चाहिँ तपाईं–हामी सबैले मनन गरौं। हामी जान सक्या छैनौं। हरेक योजना बनायो, कार्यान्वयन गर्न सक्या छैनौं। आरक्षणको नीति बनायौं, प्रभावकारी ढंगले त्यसको परिणाम निस्कन सक्या छैन। यो खालको स्थितिलाई हामीले बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ।
त्यस अर्थमा पार्टी पुनर्गठन कार्यदलले भनौं वा निर्वाचन समीक्षा प्रतिवेदनले भनौं, समस्याहरू के हुन् भन्ने कुरा दुवैले पहिचान गर्या छन्।
रामबहादुर थापा बादलको नेतृत्वमा भएको निर्वाचन समीक्षा प्रतिवेदनले पनि पार्टी जीवनका समस्यालाई उजागर गर्या छ। कार्यदलको प्रतिवेदनका १३ वटा समूहबाट आएका सुझावहरूले पनि समस्यालाई उजागर गर्या छ।
र मलाई लाग्दछ, पार्टी अध्यक्ष स्वयम् आफैंले दुई कार्यभार र १५ काम भनेर जे कुरा सूत्रीकरण गर्नुभएको छ, ती १५ कामभित्र चाहिँ धेरै विषयहरू समेटिएका छन्। फेरि केही पनि भाछैन भन्ने होइन, धेरै विषय समेटिएका छन्।
तर कार्यदलले तयार गरेको अन्तिम प्रतिवेदनले ४० संकल्पको कुरा गर्या छ, जुन कुरा चाहिँ ढिलो हामीले बुझाएका कारणले गर्दाखेरि ती कुराहरू मेन्सन हुन सक्या छैनन्।
त्यस अर्थमा म के ठान्दछु भन्दाखेरि, अब हामीलाई अगाडि बढाउने कुराको आधार हुन्छ नि। रअ मेटरियल (कच्चा पदार्थ) प्राप्त भइसक्या छ। त्यसलाई संश्लेषण गरेर पार्टीलाई सही दिशा प्रदान गर्ने खालको कामको नेतृत्व चाहिँ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुपर्दछ।
यो अभिभारा, यो जिम्मेवारी पार्टी अध्यक्ष कमरेडको हो। हामी सबैले उहाँलाई नेता मानेकै छौं त। उहाँलाई नेता नमानिकन चाहिँ यी चुनौतीहरूलाई सामना गर्ने भनेर अगाडि बढ्या अवस्था त होइन।
त्यस अर्थमा म कमरेडहरूलाई आग्रह, अनुरोध गर्न चाहन्छु, कमिटीले भनेकै जुन शब्द छ, मलाई अत्यन्त मन परेको शब्द ‘रियलाइजेसन’ गर्ने सामर्थ्य यो पार्टीको छ भन्ने कुरालाई प्रमाणित गरिकन, त्यसका आधारमा आजका चुनौतीलाई सामना गर्ने कुरामा पार्टी अध्यक्षले अगुवाइ गर्नुहुनेछ र हामी पार्टीलाई फेरि पुनर्जागृत गर्ने, पुनर्गठित गर्ने काम गर्न सक्नेछौं भन्ने कुरा म ठान्दछु।
अन्यथा के हुन्छ भन्दाखेरि, अहिले हामी जुन प्रकारले जाँदैछौं, सुधार पनि गर्न नसक्ने, मिल्न पनि नसक्ने हो भने बर्बादीबाहेक केही पनि हुँदैन। सुधारसहितको एकता आजको आवश्यकता हो। यो केन्द्रीय कमिटीको बैठकले त्यो मान्यतालाई आत्मसात् गरेर पार्टीलाई अगाडि बढाउने दिशानिर्देश गर्नेछ भन्ने खालको कुरा म कमरेडलाई राख्न चाहन्छु।
र म कमरेडसँग अनुरोध के गर्न चाहन्छु त भन्दाखेरि, हाम्रा छलफलहरू स्वस्थ हुन्, मर्यादित हुन्, पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ हुन्। हामीले कार्यदल गठन गर्दा पनि भनेका थियौं, वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई एकताबद्ध बनाउन, पार्टीमा वैचारिक रूपमा, संगठनात्मक रूपमा, जीवनशैली र आचरणका हिसाबले रूपान्तरण गर्ने कुरा गर्या थियौं र त्यही उद्देश्यका लागि पुनर्गठनका कार्ययोजना बनाउने कुरा गर्या थियौं।
त्यस अर्थमा पुनर्गठनलाई बाहिरको बहसले नेतृत्व केन्द्रित गर्यो भन्ने अर्थमा वैचारिक, राजनीतिक पुनर्गठनका प्रश्नहरूलाई पनि स्वाभाविक मानौं। जीवनशैली र आचरणका प्रश्नहरूमा हामीमाथि जे प्रश्न उठेका छन्, हरकोही नेता–कार्यकर्ताहरूले त्यसलाई मनन गरौं, आत्मसात् गरौं। हाम्रो जीवनशैली र आचरणलाई जनताले निगरानी गरिरहेका छन् र त्यो लोकप्रिय कसरी बनाउन सकिन्छ, हाम्रो एउटा उन्नत लोकतान्त्रिक संस्कार छ, त्यो संस्कारभित्र कसरी ढाल्न सकिन्छ, बुर्जुवा तुजुक देखाउने खालको जुन संस्कार विकसित भएको छ, त्यसलाई हामी कसरी बदल्न सक्दछौं, यी सबै चिजहरू चाहिँ मलाई लाग्दछ, हाम्रा रूपान्तरणका विषयहरू हुन् भन्ने म ठान्दछु।
त्यस अर्थमा मेरा कमरेडहरू सबैसँग आग्रह के छ भन्दाखेरि, कमिटीलाई बलियो बनाऔं, जनतासँगको सम्बन्धलाई बलियो बनाऔं, कार्यकर्ता पंक्तिमा विश्वास जागृत गरौं र सिंगो पार्टी पंक्तिलाई आजका चुनौतीहरू सामना गर्ने ढंगले एकताबद्ध बनाऔं। म पार्टी कमरेडसँग आग्रह गर्न चाहन्छु।
यो बैठकमा जमेर छलफल गरौं तर बैठकका निष्कर्ष पछाडि बहस विवाद गर्ने कुरालाई अन्त्य गरौं बाहिर बहस विवाद गर्ने कुरा छलफल बहस त पार्टी भित्र त हुन्छ तर बाहिरको बहस विवादलाई अन्त्य गर्ने खालको काम गरौं त्यसले मलाई लाग्दछ हामी आजका चुनौतीहरुलाई सामना गर्ने कुरामा एक हदसम्म सफल हुन सक्दछौं भन्ने मलाई लाग्दछ
स्वभाविक रुपमा थप शक्ति पनि हामीले आर्जन गर्नुपर्ला संविधानका पक्षधर शक्तिहरु लोकतान्त्रिक शक्तिहरुसँग मिलेर अगाडि बढ्नुपर्ने पनि होला त्यो काम पनि हामी गरौं तर पहिलो कुरा के हो त भन्दाखेरि पार्टी पंक्तिलाई पार्टी शक्तिलाई एकताबद्ध गर्ने त्यसको मनोबल उच्च बनाउने त्यो एकता भावनात्मक एकतामा बदल्ने कसैले पनि पार्टीले मलाई उपेक्षा गर्यो भन्ने प्रकारको अनुभूति नहुने गरी हामी अगाडि बढ्ने कोसिस गरौं
किनकि हामी यस्तो चुनौतीमा छौं कि विगतका विमतिका भारीहरु बोकेर यो चुनौतीको सामना गर्न सक्दैनौं भन्ने मलाई लाग्दछ त्यसै अर्थमा मैले कर्ण थापा कमरेडलाई पनि बसौं भनेर आग्रह गर्या थिएँ त्यसलाई सम्मान गर्नुभएको छ म उहाँलाई धन्यवाद भन्दै आफ्नो भनाइलाई अन्त्य गर्न चाहन्छु र यो समयका लागि पार्टी अध्यक्ष कमरेडलाई हृदय देखि नै धन्यवाद भन्न चाहन्छु र पार्टी अध्यक्षसँगको मेरो असहमति भन्ने खालको कुरा असहमति छँदै छैन र कमरेडलाई अनुभूति भएको छ भने भोलिका दिनदेखि अनुभूति गर्नुपर्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु, धन्यवाद।