नेपाली कांग्रेस देउवा पक्षधरको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार मध्यरात गरिएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।
कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा राणालाई स्पष्ट कारणबिना गरिएको गिरफ्तारीलाई 'हचुवा, अराजक र गैरकानुनी' भन्दै निन्दा गरिएको छ।
पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत आधार र प्रमाणबिना धरपकड गरिएको भन्दै कोइरालाले उक्त घटनाको निन्दा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, 'पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत बिना आधार र प्रमाण गरिएको धरपकड कार्यको नेपाली कांग्रेस घोर निन्दा गर्दछ।'
कोइरालाले राणाको गिरफ्तारीलाई गैरजिम्मेवारपूर्ण कार्यको संज्ञा दिँदै सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन्।