राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा आवश्यक ठानेर चाल्ने कदममा पार्टीको समर्थन रहने बताएका छन्।
चीन भ्रमणमा जानुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खरेलले पार्टीले सरकारको काममा हस्तक्षेप नगर्ने बताएका हुन्।
सरकारका कतिपय कदमहरूबाट पार्टी र सरकारबीच मतभेद देखिएको भन्दै पत्रकारहरूले प्रश्न गरेका थिए। उनीहरूले गृहमन्त्री सुधन गुरूङबारेको छानबिन प्रतिवेदन, आइजिपी हटाइएको विषय र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको विषय उठाउँदै सरकार र पार्टीबीच मतभेद रहेको भन्दै प्रश्न गरेका थिए।
प्रवक्ता खरेलले जति पनि विषय आएका छन् ती विषयमा प्रधानमन्त्री लिने एक्सनमा पार्टीको समर्थन हुने बताएका हुन्।
‘प्रधानमन्त्रीले चाल्ने कदममा पार्टीको तर्फबाट समर्थन रहन्छ, सहयोग रहन्छ। प्रधानमन्त्रीले जे-जस्तो एक्सन लिनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ, त्यसमा पार्टीले प्रधानमन्त्री र समग्र सरकारलाई सहयोग गर्छ,’ उनले भने।
सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उनले बताए।
‘पार्टी सभापति र नेतृत्व सरकार सञ्चालनमा कुनै अवरोध वा अप्ठ्यारो महसुस नहोस्, पार्टीले हस्तक्षेप गर्यो भन्ने नलागोस् भन्नेमा सचेत छ,’ उनले भने।
अहिले आएका विषयहरूमा प्रधानमन्त्रीले सोचिरहेको हुन सक्ने खरेलले बताए।
त्यस्तै, प्रहरी महानिरीक्षक (आइजिपी) हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले पुन दोहोर्याए।
‘आइजिपी हटाउने विषयमा पार्टीले सरकारलाई हटाऊ पनि भनेको छैन, राख पनि भनेको छैन। यो सरकारको विवेकको कुरा हो,’ उनले भने।
पत्रकार सम्मेलनमै रास्वपा महामन्त्री विपिनकुमार आचार्यले पनि पार्टी र सरकारबीच मतभेद नरहेको दाबी गरे। उनले पार्टी र सरकार एउटै दिशामा रहेको बताए।
‘सरकार र पार्टी एउटै पेजमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ,’ उनले भने।
आचार्यका अनुसार चीन भ्रमणमा जाने विषयमा प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछाने दुवै नेतृत्वले एउटै धारणा दिएका थिए। भ्रमणलाई कसरी अघि बढाउने भन्ने विषयमा दुवै नेतृत्वबाट साझा सन्देश आएको उनले बताए।
उनले पार्टी, राज्य र सरकारको सन्दर्भमा मतभिन्नता नरहेको तर मुद्दाका आधारमा कहिलेकाहीँ फरक धारणा आउन सक्ने बताए।
‘सरकारले कतै बाटो बिरायो भने रास्वपाका सदस्यहरूले प्रश्न गर्छन्। पार्टीले कतै बाटो बिरायो भने पार्टीका सदस्यहरूले पनि प्रश्न गर्छन्। प्रश्न गरिनुलाई गलत रूपमा लिनु हुँदैन,’ उनले भने।