अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार चीनमा एउटै टेबलमा बस्दैछन्।
विश्वका तीन शक्तिशाली नेताबीच पहिलोपटक प्रत्यक्ष रूपमा त्रिपक्षीय छलफल हुन लागेको हो। यो त्रिपक्षीय भेटमा परमाणु हतियार नियन्त्रणदेखि इरान र युक्रेन युद्ध अन्त्य गर्ने विषयसम्म छलफल हुने अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
यो छलफलले विश्व राजनीतिमा नयाँ मोड ल्याउन सक्ने भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेतासँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको भन्दै यो भेटलाई उपलब्धिमूलक बनाउने दाबी गर्दै आएका छन्।
‘उनीहरू दुवै ट्रम्पलाई मन पराउँछन्। तर मपछि के हुन्छ, त्यो भने भन्न सक्दिनँ,’उनले बिहीबार फक्स न्युजसँग भनेका छन्।
त्रिपक्षीय छलफलपछि ट्रम्पले सी र पुटिनसँग छुट्टाछुट्टै भेतवार्ता पनि गर्नेछन्।
ट्रम्पले पहिले सीसँग द्विपक्षीय भेट गर्नेछन्। त्यसपछि पुटिनसँग छुट्टै वार्ता गर्ने कार्यक्रम छ।
गत वर्ष अमेरिकाको अलास्कामा भएको भेटपछि ट्रम्प र पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो।
त्यसबेला युक्रेन युद्ध अन्त्य गर्ने विषयमा सहमति जुट्न सकेको थिएन।
परमाणु हतियार नियन्त्रणमा ट्रम्पको चासो
तीन नेताबीचको भेटमा परमाणु हतियार नियन्त्रण मुख्य एजेन्डामध्ये एक हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिका र रुसबीचको अन्तिम परमाणु हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो। त्यसपछि ट्रम्पले चीनलाई समेत समेटेर नयाँ, सुधारिएको र आधुनिक सम्झौता गर्नुपर्ने बताउँदै आएका छन्।
तर चीनलाई यस्तो सम्झौतामा ल्याउन सजिलो छैन।
चीनसँग ६०० भन्दा बढी परमाणु हतियार रहेको अनुमान छ। जबकि अमेरिका र रुससँग पाँच हजारभन्दा बढीका दरले परमाणु हतियार रहेको अनुमान गरिन्छ।
आफूसँग अमेरिका र रुसको तुलनामा निकै कम परमाणु हतियार भएकाले चीनले ती हतियारको संख्या सीमित गर्ने सम्झौता स्वीकार गर्नुपर्ने कारण कम देखिएको विश्लेषकहरूको भनाइ छ।
आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारिल किमबलले तीन नेताबीचको भेटलाई कूटनीतिक प्रदर्शनमा मात्र सीमित गर्न नहुने बताएका छन्।
‘हामीलाई ट्रम्प, सी र पुटिनबीचको कूटनीतिक नाटक र फोटो खिच्ने अवसरभन्दा बढी चाहिएको छ। एउटा बैठकबाट नाटकीय उपलब्धि हासिल हुने सम्भावना छैन,’ उनले एपीसँग भनेका छन्।
ट्रम्पले पनि परमाणु हतियारको संख्या घटाउन कुनै देशका नेतालाई सहमत गराउनु निकै कठिन काम भएको बताएका छन्।
युक्रेन र इरान युद्ध पनि छलफलमा
अमेरिका, चीन र रुसका नेताबीच युक्रेन र इरान युद्धबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
रुसी राष्ट्रपति कार्यालयका विदेश मामिला सल्लाहकार युरी उशाकोभले तीन नेताबीचको छलफलमा युक्रेन युद्धको विषय उठ्ने बताएका छन्। तर बैठकको विस्तृत कार्यसूची भने अन्तिम भइनसकेको उनको भनाइ छ।
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग छलफल गर्न चाहेका छन्। त्यस्तै, इरानसँग जारी युद्धबारे पनि चीन र रुससँग कुरा गर्ने उनको योजना छ।
तर यस बैठकमा युक्रेन स्वयं सहभागी छैन। युक्रेन मात्र होइन, जर्मनी, फ्रान्स, बेलायत, जापान र दक्षिण कोरियाजस्ता देश पनि छलफल प्रक्रियाबाहिर छन्। युक्रेन युद्धको परिणामबाट प्रत्यक्ष प्रभावित हुने युरोपेली देशहरूलाई समेत बाहिर राखेर अमेरिका, चीन र रुसले निर्णय गर्न खोजेको भन्दै प्रश्न उठेको छ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले यसअघि नै युरोपेली देशहरूलाई फेरि ‘एन्करेज क्षण’ दोहोरिने डर रहेको बताएका थिए। उनले गत वर्ष अलास्कामा ट्रम्प र पुटिनबीच भएको भेटलाई संकेत गरेका थिए। त्यसबेला युक्रेन र उसका साझेदारहरूले अस्वीकार गरेका प्रस्तावहरू अघि सारिएका थिए।
ट्रम्पले पुटिनसँग व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै आए पनि अमेरिका र युक्रेनबीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ। ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गरेका छन्। त्यस्तै, युक्रेनले रुसी आक्रमणविरुद्ध प्रयोग गर्दै आएका ड्रोनका लागि आवश्यक भूउपग्रह सेवामा समेत अवरोध आएको छ।
ट्रम्पसँगै चीन पुगेका अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनले प्रयोग गर्दै आएको सैन्य भूउपग्रह प्रणाली ‘स्टारसिल्ड’ को सेवा पटकपटक सीमित गरेको थियो।
व्यापार र प्रविधिको प्रतिस्पर्धा पनि चुनौती
तीन नेताबीचको भेटमा परमाणु हतियार र युद्धबाहेक व्यापार तथा कृत्रिम बौद्धिकता (एआई) को प्रतिस्पर्धाले पनि महत्त्व पाउनेछ।
विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच व्यापारिक तनाव अझै कायम छ। गत वर्ष एकअर्काका सामानमा भन्सार शुल्क बढाएपछि दुवै देशबीच व्यापारिक युद्ध चर्किएको थियो। त्यसपछि भएको अस्थायी व्यापारिक सहमति आगामी जनवरी १० मा समाप्त हुँदैछ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग यसअघि नै व्यापारबारे छलफल गरेका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार चीनले गत वर्ष ट्रम्प र सीबीच भएको भेटमा अमेरिकी कृषि उत्पादन खरिद बढाउने र विद्युतीय उपकरण बनाउन आवश्यक दुर्लभ खनिजको निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गरेको छैन।
त्यस्तै, एआई प्रविधिमा अग्रणी बन्ने अमेरिका र चीनबीचको प्रतिस्पर्धा पनि पछिल्लो समय चर्किएको छ। चीनले अमेरिकी उन्नत कम्प्युटर चिपमा पहुँच पाउने विषयमा अमेरिकाले थप कडाइ गर्ने अपेक्षा गरिएको थियो। तर ट्रम्पले चीनसँगको सम्बन्ध बिग्रिने डरले तत्काल थप प्रतिबन्ध लगाउन नचाहेको संकेत गरेका छन्।
यता, अमेरिका र चीनबीचको व्यापारिक प्रतिस्पर्धाका बीच चीन र रुस दुवैले इरानसँग व्यापारिक सम्बन्ध कायम राखेका छन्। अमेरिकाले इरानमाथि युद्ध गरिरहेका बेला पनि उनीहरूले इरानलाई व्यापारिक सहयोग जारी राखेका छन्।
इरान युद्धका कारण ऊर्जा मूल्य बढेको र विश्व अर्थतन्त्रको वृद्धिमा असर परेको छ।
यसरी परमाणु हतियारको प्रतिस्पर्धा, युक्रेन र इरान युद्ध, व्यापारिक तनाव तथा एआई प्रविधिमा वर्चस्वको होडबीच हुन लागेको तीन नेताको भेटलाई विश्वले चासोका साथ हेरेको छ।