जनता समाजवादी पार्टी, नेपाल (जसपा) छाडेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ।
निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै उनीहरूले निर्वाचित भएको दल त्याग गरेको भन्दै पद रिक्त भएको जनाएको हो।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जानकारी गराएको छ।
आयोगका अनुसार २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका ती जनप्रतिनिधिले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समितिले निर्णय गरेको थियो।
केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी आएपछि मंसिर २ गते उनीहरूको पद रिक्त भएको निर्णय गरिएको सूचनामा उल्लेख छ।
पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन्।
सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, सुखीपुर नगरपालिका होइन, सुखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ।
खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सात जनप्रतिनिधिको पद रिक्त भएको छ।
उनीहरूमा वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नाल छन्।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माइजोगमाई गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष डालबहादुर गुरुङको पद पनि रिक्त भएको छ।
सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जुडिलाल कोड्गियाको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।
