नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ।
उक्त महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने नेता भूपेन्द्रजंग शाहीले घोषणा गरेका छन्। देउवा पक्षले पुरानो विधानअनुसार महाधिवेशन गरे कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था छ।
नेविसंघ उपाध्यक्ष, नेपाल तरूण दल महामन्त्री भइसकेका शाही कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै २०७८ सालमा भएको १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिए।
शाही विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। विशेष महाधिवेशनले पार्टीलाई कमजोर र विभाजित बनाउने उनको भनाइ थियो।
उनले पार्टी सत्ताकेन्द्रित नभई जनताकेन्द्रित बनाउनुपर्ने बताए।
‘नैतिक मूल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्छ,’ उनले भने, ‘पार्टी सुधार, संगठन निर्माण र रूपान्तरणको लागि कडा रुपमा लाग्नुपर्ने समय आएको छ।’
शाहीले २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस संगठन निर्माण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म गाउँदेखि जिल्लासम्म पुगेका थिए।
२०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गरेको उनको भनाइ छ।
उनले २०८१ कार्तिक २३ गतेबाट पूर्व मेचीनगरदेखि पश्चिम महेन्द्रनगरसम्म युवा सङ्कल्प यात्रा गरेर देशैभरि युवाका एजेन्डा, भ्रष्टाचारको अन्त्य, सुशासन, युवालाई रोजगारीको ग्यारेन्टी, नागरिक मैत्री सरकार, उधमशिलता र कृषिमा युवालाई जोडेर अगाडि बढ्न ध्यानाकर्षणसमेत गराएको बताए।
कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमूल रूपान्तरणको खाँचो रहेको उनले बताए।
‘पार्टी अब सुस्त लय, गतिहीन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन। अब पार्टी भित्रको गुटबन्दी, भागबण्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ,’ उनले भने।
शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढंगले बुझ्नुपर्ने बताए।