नेपाली कांग्रेसका नेता देवराज चालिसेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि साझा राष्ट्रिय धारणा बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमण देशको प्रतिनिधित्व गर्ने राजकीय भ्रमण भएकाले यस्तो भ्रमणमा जानुअघि राजनीतिक दलहरूबीच साझा राष्ट्रिय धारणा बनाउने प्रचलन रहेको बताएका छन् तर यसपटक त्यस्तो प्रयास नदेखिएको उनको भनाइ छ।
चालिसेले वर्तमान सरकार बहुदलीय संसदीय निर्वाचन प्रणालीबाट निर्वाचित भए पनि यसको चरित्र र व्यवहारमा एकदलीय सर्वसत्तावाद देखिएको टिप्पणी गरेका छन्।
बहुमत प्राप्त गर्नु राज्यका सबै संस्थामाथि एकाधिकार जमाउने अधिकार नभएको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरेका छन्, ‘सरकार के चाहन्छ ? प्रतिपक्षविहीन राजनीति, प्रश्नविहीन शासन कि आफ्नै निर्णयलाई राष्ट्रिय सहमति ठान्ने राजनीतिक अहंकार ?’
निर्वाचनले सरकारलाई सत्ता सञ्चालन गर्ने अधिकार दिएको तर निरंकुश बन्ने छुट नदिएको उनले बताएका छन्।
आन्तरिक राजनीतिमा दलहरूबीच मतभेद हुनु स्वाभाविक भए पनि राष्ट्रहित र छिमेकी मुलुकसँगको सम्बन्धका विषयमा साझा धारणा आवश्यक रहेको चालिसेको भनाइ छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, सुरक्षा, जलस्रोत र सार्वभौमिकतासँग जोडिएका विषय कुनै एक दल वा व्यक्तिको निजी विषय हुन नसक्ने उनले बताएका छन्।
यस्ता विषयमा हुने सन्धि तथा सम्झौताको प्रभाव लामो समयसम्म रहने भएकाले राष्ट्रिय एकीकृत आवाज आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
विगतमा पनि केही दलले छिमेकी मुलुकसँगको सम्बन्धलाई आफ्नो दलको निजी विषय बनाउँदै विवादमा ल्याउन खोजेको भन्दै उनले त्यसको असर देशले भोगिसकेको बताएका छन्।
चालिसेले अन्तर्राष्ट्रिय कूटनीति र घरेलु राजनीतिबीच सन्तुलन कायम गर्न वर्तमान सरकार अपरिपक्व देखिएको टिप्पणीसमेत गरेका छन्। सरकारको यो अपरिपक्वता स्वभावजन्य हो वा कुनै योजनाअनुसार भइरहेको हो भन्ने कुरा आगामी दिनका घटनाक्रम र प्रतिक्रियाले स्पष्ट पार्ने उनको भनाइ छ।
प्रधानमन्त्रीको भारत भ्रमण दिल्ली र काठमाडौंको विषयमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसलाई बेइजिङदेखि वासिङ्टनसम्मले चासोका साथ हेरिरहेको हुन सक्ने बताएका छन्। सम्बन्ध र भ्रमण द्विपक्षीय भए पनि त्यसप्रतिको नजर बहुपक्षीय हुने उनको टिप्पणी छ।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, देशका लागि फलदायी र राष्ट्रहितअनुकूल होस् भन्दै भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै काम नहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।