नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पुँजीवादी व्यवस्था संकटमा परेको र विश्वभर कम्युनिस्ट, वामपन्थी तथा समाजवादी विचारप्रति आकर्षण बढ्दै गएको बताएका छन्।
नेपालमा पनि कम्युनिस्ट जनमत बढाउन पार्टीहरूले आफ्नो विचार, संगठन र कार्यशैलीमा सुधार गर्नुपर्ने उनको भनाइ छ।
चितवनको भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौं साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले अमेरिका र युरोपका जनतासमेत समाजवादी तथा कम्युनिस्ट विचारप्रति आकर्षित हुन थालेको दाबी गरे।
उनले अमेरिकाको न्युयोर्कमा समाजवादी नारा अघि सारेका जोहरान ममदानी मेयर निर्वाचित हुनु, युरोपका विभिन्न देशमा वामपन्थी शक्तिको प्रभाव बढ्नु र अमेरिकामा आफूलाई समाजवादी भन्ने सांसदको सङ्ख्या बढ्नुलाई विश्व राजनीतिमा देखिएको नयाँ प्रवृत्तिका रूपमा व्याख्या गरे।
‘पुँजीवादको विकल्पमा विश्वभरबाट फेरि कम्युनिस्ट, वामपन्थी वा समाजवादी विभिन्न नामबाट प्रगतिशीलहरू, वामपन्थीहरू, क्रान्तिकारीहरू र कम्युनिस्टहरू अगाडि बढेको देखिन्छ,’ उनले भने।
पुनले नेपालमा कुनै समय दुई तिहाइसम्म पुगेको कम्युनिस्ट जनमत अहिले १५–१६ प्रतिशतमा खुम्चिनुको मुख्य कारण बदलिएको समाज र वर्ग संरचनाअनुसार पार्टीहरूले आफूलाई रूपान्तरण गर्न नसक्नु रहेको बताए।
पछिल्ला दुई दशकमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण नेपाली समाजको वर्ग संरचना बदलिएको उल्लेख गर्दै उनले मध्यम वर्गको चाहना र आकांक्षा सम्बोधन गर्न नसकिएको स्वीकार गरे।
‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौँ, आफूलाई अपडेट गर्न सकेनौँ, मार्क्सवादलाई विकास गर्न सकेनौँ भन्ने कुरा हामी स्वीकार्नुपर्छ,’ उनले भने।
उनले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। तत्काल पार्टी एकता सम्भव नभए निर्वाचन, संसद्, सरकार र सडक संघर्षमा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने उनको प्रस्ताव थियो।
‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो। सकिन्छ एकता, सकिँदैन कम्तीमा चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ उनले भने।
पुनले संविधान, गणतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका शक्तिबीच पनि सहकार्य आवश्यक रहेको बताए।
कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन संगठन, नेतृत्व चयन र निर्णय प्रक्रियालाई सहभागितामूलक बनाउनुपर्ने उनको भनाइ थियो।
फरक प्रसंगमा उनले महँगी वृद्धिदर झन्डै सात प्रतिशत पुगेको उल्लेख गर्दै जनताको जीवनसँग जोडिएका मुद्दामा राजनीतिक दलहरूले आवाज उठाउनुपर्ने बताए।