प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने भ्रमणका लागि भारतको राजधानी दिल्ली उड्दासम्म पनि एयर रूटमा सहमति जुट्न सकेको छैन।
एयर रूटका लागि भारतसँग नेगोसिएसन गरिरहेको नेपाली टोलीका अनुसार दुई पक्षबीचको वार्तामा प्रगति भएको भए पनि भाषा मिलेको छैन।
नेपाललाई एयर रूट दिन लगभग सहमत भएको भारतले पछिल्लो पटक बागडोरा एयरपोर्टका लागि नेपालसँग एयरस्पेस मागेको थियो। नेपाली पक्षले प्राविधिक अध्ययनपछि उक्त एयरस्पेस भारतीय यात्रुवाहक विमानका लागि दिन सकिने जनाएको छ।
भारतीय पक्षले वार्ताको सुरूआतमा भारतीय सेनाले पनि उक्त एयरस्पेस प्रयोग गर्न पाउनुपर्ने बताएको थियो तर नेपाली पक्षले सैन्य प्रयोगमा सहमति नहुने तर यात्रुवाहक विमान र कार्गोको हकमा सहमति जनाएको थियो।
भारतीय पक्षले बागडोरा विमानस्थलका लागि एयरस्पेस दिन नेपाल सहमत भएको भाषा प्रयोग गर्नुपर्ने अडान लिएको छ।
नेपालले भने प्राविधिक अध्ययनपछि बागडोरा विमानस्थलका लागि एयरस्पेस दिन तयार रहेको भाषा लेख्न सकिने बताएको छ।
'नेपालले प्राविधिक अध्ययनपछि एयरस्पेस दिने भन्ने शब्द प्रयोग गर्दा पछि नदिने हो कि भन्ने आशंका भारतीय पक्षलाई भएको देखिन्छ', वार्तामा सहभागी एक नेपाली प्रतिनिधिले सेतोपाटीसँग भने, 'उनीहरू सैन्य प्रयोग नभएर यात्रुवाहक विमान र कार्गो (सिभिलियन युज) का लागि एयरस्पेस दिने नेपालको प्रस्तावमा सहमत छन्। प्रधानमन्त्रीले प्राविधिक अध्ययनपछि एयरस्पेस दिने प्रतिबद्धता जनाएर भारतीय पक्षलाई विश्वासमा लिन सकिन्छ भन्ने लाग्छ।'
हाल नेपालबाट बाहिरिन प्रयोग हुने धनगढी, जनकपुर र भैरहवाको रूटलाई दुई पक्षीय एयर रूट बनाउन नेपालले माग गरेको छ। भारतीय पक्षलाई बागडोरा एयरपोर्टका लागि नेपालको केही एयरस्पेस उपलब्ध गराएर तीन वटा रूटलाई दोहोरो बनाउने नेपालको तयारी छ।
नयाँ एयर रूट प्राप्त गरे नेपाल आउने विमानहरूको यात्रा समय केही कम हुनेछ। यात्रा समय घट्दा जहाजले कम तेल प्रयोग गर्ने र त्यसले भाडादरमा समेत थोरै मात्रामा भए पनि कमी ल्याउन सक्नेछ। त्यस्तै सिमराबाट भित्र छिर्ने जहाजहरूले धेरै समय होल्ड गर्नुपर्ने अवस्थामा पनि केही मात्रामा भए पनि कमी आउनेछ।
हाल भारत हुँदै नेपाल भित्रिने अधिकांश जहाज सिमरा क्षेत्रबाट मात्र नेपाली आकाशमा प्रवेश गर्छन्। नेपालले झण्डै १५ वर्षदेखि भारतसँग एयर रूट माग गर्दै आएको छ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्।