नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सोमबार लुम्बिनी प्रदेशको अधिवेशन गर्दैछ।
दाङको भालुवाङस्थित होटल पौवामा हुने अधिवेशनबाट प्रदेश नेतृत्व चयन हुँदैछ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको र प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) को नाममा सहमति जुटिसकेको एक नेताले बताए।
प्रदेशका १२ वटै जिल्लाका सभापति रोजलाई प्रदेश सभापति बनाउन सहमत भएको ती नेताले बताए।
रोज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन्।
देउवा पक्षबाट टिकट पाएर उनी अघिल्लो प्रदेशसभा निर्वाचनमा प्यूठानबाट निर्वाचित भएका थिए।
त्यसअघि प्यूठानमा ३१ वर्षसम्म कांग्रेसले प्रदेशसभा निर्वाचन जित्न सकेको थिएन। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा भने प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका थिए।
रोज लुम्बिनी प्रदेश सरकारमा दुई कार्यकाल गरी झन्डै साढे दुई वर्ष मन्त्री बनेका थिए।
पहिलो पटक उद्योग तथा यातायातमन्त्री हुँदा उनले यातायात क्षेत्रमा केही नियम परिवर्तन गरेका थिए।
उनकै कार्यकालमा परीक्षार्थीले आफ्नै गाडी चलाएर सवारी चालक अनुमतिपत्रको ट्रायल दिन पाउने व्यवस्था लागू भएको थियो।
त्यस्तै, चालकको आँखाको दृष्टि परीक्षण प्रमाणित चिकित्सकबाट गराउन पाउने व्यवस्था गरिएको थियो।
उनले चालक अनुमतिपत्रको लिखित परीक्षामा मन्त्रालयका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने र परीक्षाको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि लागू गरेका थिए।
कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भत्किएपछि कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दा रोज सहरी विकास तथा खानेपानीमन्त्री थिए।
एमाले नेतृत्वको सरकारमा सहभागी हुँदा उनी देउवा पक्षको नेतृत्व गरिरहेका थिए।
त्यसबेला उनले लामो समयदेखि अलपत्र रहेका ठेक्का तोडेर नयाँ प्रक्रियाबाट टेन्डर आह्वान गर्न पहल गरेका थिए।
तर, यही अवधिमा आफ्नो प्रभाव प्रयोग गरेर निर्वाचन क्षेत्रमा करोडौँ रुपैयाँ बजेट लगेको आरोप पनि उनीमाथि लागेको छ।
रोज चलचित्र क्षेत्रबाट राजनीतिमा आएका नेता हुन्।
उनी चलचित्र निर्माता संघको महासचिव र उपाध्यक्ष भइसकेका छन्।
‘खलनायक’, ‘दोस्ती’, ‘जय परशुराम’ र ‘टक्कर दुई मुटुको’ लगायत चलचित्र उनले निर्माण गरेका हुन्। उनी निर्माता, नायक तथा निर्देशकका रूपमा पनि काम गरिसकेका छन्।
लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्।
तीमध्ये कुनै समय देउवा पक्षमा खुलेर लाग्ने रोज एक्ला सांसद थिए। पछिल्लो समय बाँकेकी समानुपातिक सांसद माया पुन र मीनाकुमारी सिद्धिकी तथा नवलपरासी पश्चिमका देवकर्णप्रसाद कलवार पनि देउवा पक्षमा खुलेका छन्।
यी चार जनाबाहेक लुम्बिनीका कांग्रेस सांसद पार्टीको संस्थापन पक्षमा छन्।
देउवा पक्षका विश्वासपात्र मानिने पूर्वमुख्यमन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पनि पार्टीको संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
चौधरीले पार्टी नछोडे पनि अब कांग्रेसको सक्रिय राजनीतिमा नरहने र आगामी कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका छन्।
उनी सामाजिक काममा सक्रिय हुने र आफूले स्थापना गरेको गैरसरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) मार्फत समाज विकासका काममा केन्द्रित हुने बताउँदै आएका छन्।
देउवा पक्षबाट लुम्बिनी प्रदेश संयोजक रहेका दाङको तुलसीपुरका गेहेन्द्र गिरीले केन्द्रीय सहमहामन्त्री पदमा आकांक्षा व्यक्त गरेका छन्।
गिरीले पनि सोमबारको अधिवेशनबाट रोज राणा प्रदेश सभापति बन्ने सहमति भइसकेको बताए।
स्रोतका अनुसार दाङका बमबहादुर डिसी र रोल्पाका दुर्गा खड्का प्रदेश महामन्त्री बन्ने भएका छन्। उपसभापतिमा बाँकेकी माया पुनको नाममा सहमति जुटेको स्रोतले बताएको छ।
अन्य पदाधिकारी र प्रदेश समिति सदस्यका विषयमा पनि सहमति भइसकेको बताइएको छ।
‘हाम्रा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ,’ एक नेताले भने, ‘निर्वाचनमा जाँदा मनमुटाव हुने भएकाले हामी सर्वसम्मत नेतृत्व चयनमा जोड दिइरहेका छौं।’
प्रदेशका १२ वटै जिल्लाबाट कम्तीमा पाँच जना समेट्ने गरी पद बाँडफाँटको तयारी गरिएको स्रोतले बतायो।
सोमबारको अधिवेशनले ११५ सदस्यीय कार्यसमिति चयन गर्नेछ।