दक्षिण कोरियामा परीक्षार्थीले चिट चोरेको घटना सार्वजनिक भएपछि शिक्षामन्त्रीले राजीनामा दिएका छन्।
राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा सबैभन्दा धेरै अंक ल्याएका एक परीक्षार्थीले चिट चोरेको खुलेपछि शिक्षामन्त्री चोई क्यो-जिनले राजीनामा दिएका हुन्।
ती परीक्षार्थीले एआई प्रयोग गरी चिट चोरेको खुलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनले सानो क्यामेराबाट प्रश्नपत्रको तस्बिर खिचेर एआई प्रणालीमा पठाउने र त्यसले दिएको उत्तर स्मार्टफोनमा हेरेर लेखेको खुलेको छ। उनले कर लेखा परीक्षकको परीक्षाका दुवै चरणमा यस्तो तरिका अपनाएर चिट चोरेको स्वीकार गरेका हुन्।
कर लेखा परीक्षकको पहिलो चरणको परीक्षा गत अप्रिलमा र दोस्रो चरणको परीक्षा जुलाईमा भएको थियो।
दुवै चरणमा उत्कृष्ट अंक ल्याएर पहिलो भएका ती परीक्षार्थीले नोभेम्बर १५ मा आफ्नै वकिलको युट्युब च्यानलमार्फत चिट चोरेको खुलासा गरेका थिए। उनले प्रहरीसमक्ष लिखित बयानसमेत दिएका थिए।
‘मैले कर लेखा परीक्षकको परीक्षामा चिट चोरेको हुँ। मैले पाएको उत्कृष्ट स्थान इमानदार प्रयासको नतिजा होइन,’ उनले भिडिओमा भनेका छन्।
उनको स्वीकारोक्ति सार्वजनिक हुँदा दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा हुन चार दिन मात्रै बाँकी थियो।
त्यहाँको सबैभन्दा महत्वपूर्ण मानिने विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनुङ’ बिहीबार नोभेम्बर १९ तारिखमा भएको थियो।
एआई प्रयोग गरेर चिट चोरिएको घटना सार्वजनिक भएपछि विश्वविद्यालय प्रवेश परीक्षामा पनि त्यस्तै हुन सक्ने आशंकामा सरकारले परीक्षा केन्द्रमा कडाइका गरेको थियो।
बेलायती समाचार संस्था द गार्डियनका अनुसार परीक्षा केन्द्रमा सार्वजनिक वाइफाइ बन्द गरिएको थियो भने निरीक्षकको संख्या पनि दोब्बर बनाइएको थियो।
त्यति मात्रै होइन, परीक्षामा सहभागी हुने विद्यार्थीलाई पेन्सिल मात्रै लिएर आउन भनिएको थियो। इरेजर परीक्षा केन्द्रमै उपलब्ध गराउने व्यवस्था गरिएको थियो। लेख्ने सामग्रीभित्र साना डिजिटल उपकरण लुकाएर ल्याउन सक्ने सम्भावना रोक्न यस्तो गरिएको थियो।
बटन भएका लुगा नलगाउन पनि विद्यार्थीलाई भनिएको थियो। त्यस्ता लुगा लगाएर आएका विद्यार्थीको बटनमा स्टिकर टाँस्ने व्यवस्था गरिएको थियो। बटनभित्र सानो क्यामेरा लुकाइएको हुन सक्ने आशंकामा यस्तो गरिएको थियो।
परीक्षाका दिन विद्यार्थीले स्मार्टफोन र अन्य विद्युतीय उपकरण बन्द गरेर बुझाउनुपर्ने नियम बनाइएको थियो। झोला राखिएको ठाउँमा पनि उपकरण चालु अवस्थामा छन् कि भनेर जाँच गरिएको थियो। परीक्षार्थीका चस्मा, घडी, सर्टका कलर र बाहुलासमेत चेकजाँच गरिएको थियो।
चिट चोर्ने कार्यलाई निरूत्साहित गर्न सरकारले देशभरका मोबाइलमा आपत्कालीन सूचना पनि पठाएको थियो। उक्त सूचना ठूलो आवाजमा बज्ने र बन्द गर्न नमिल्ने बनाइएको थियो। फोन बुझाउन छुटेका विद्यार्थी पत्ता लगाउन यस्तो गरिएको थियो।
त्यसका बाबजुद गएको बिहीबार भएको परीक्षामा विद्युतीय उपकरणसँग सम्बन्धित १११ वटा अनियमितता भेटिएको शिक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये झन्डै आधा घटना मोबाइलमा पठाइएको आपत्कालीन सूचनाकै माध्यमबाट पत्ता लागेका थिए।
चिट चोरेको घटना सार्वजनिक भएपछि सरकारले सूचना दिएर सहयोग गर्नेलाई कम्तीमा ७५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेको थियो। चिट चोर्न सघाउने व्यक्तिबारे आफैंले सूचना दिए सजाय कम गर्ने प्रस्ताव गरिएको थियो।
तर सरकारले अन्तिम समयमा नियम परिवर्तन गर्दै नयाँ व्यवस्था लागू गर्दा विद्यार्थी र शिक्षक थप अन्योलमा परेको भनेर गार्डियनले लेखेको छ। शिक्षकका संगठनले पनि सरकारले समयमै आवश्यक तयारी नगरेको भन्दै आलोचना गरेका थिए।
परीक्षाको तयारीबारे नोभेम्बर १६ मा भएको संसदीय सुनुवाइका क्रममा सांसदहरूले शिक्षामन्त्री चोईलाई परीक्षा दिने दिन चिट चोर्न खोज्नेहरूलाई नियन्त्रण गर्न सकिनेमा कति विश्वस्त हुनुहुन्छ भनेर सोधेका थिए।
७२ वर्षीय चोईले ‘मेरो उमेरका कारण म विश्वस्त छैन’ भन्ने जवाफ दिएका थिए। उनको यो जबाफको पनि व्यापक आलोचना भएको थियो।
परीक्षा सकिएको तीन दिनपछि आइतबार, नोभेम्बर २२ मा चोईले सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको घोषणा गरे।
‘कुनै ठूलो घटना नभई परीक्षा सकिएको छ। तर जिम्मेवार मन्त्रीका रूपमा हामीले पर्याप्त तयारी गर्न सकेनौँ भन्ने सार्वजनिक आलोचनाबाट म अलग रहन सक्दिनँ,’ उनले लेखेका छन्, ‘म यसको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिन्छु।’
राष्ट्रपति ली जे म्युङले त्यसको करिब एक घण्टापछि उनको राजीनामा स्वीकृत गरेका थिए।
दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधार मानिन्छ।
८ घण्टासम्म चल्ने यो परीक्षाको नतिजाले विद्यार्थीले कुन विश्वविद्यालयमा पढ्न पाउँछन् भन्ने तय गर्छ। प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुन सके राम्रो रोजगारी र सामाजिक हैसियत प्राप्त हुने विश्वासका कारण विद्यार्थी र परिवारले यो परीक्षालाई निकै गम्भीरतापूर्वक लिन्छन्।
परीक्षा व्यवस्थित बनाउन दक्षिण कोरियाले असाधारण सावधानी अपनाउँदै आएको छ।
अंग्रेजी विषयको २५ मिनेटको श्रवण परीक्षाका बेला आवाजले विद्यार्थीलाई बाधा नपुर्याओस् भनेर विमानको उडान र अवतरणसमेत समय मिलाएर गरिन्छ।
त्यसबेला तोप पड्काउने र ट्यांक चलाउने अभ्यास पनि रोकिन्छ। सेयर बजार सामान्यभन्दा एक घन्टा ढिलो खुल्छ भने परीक्षा केन्द्रको २०० मिटर वरिपरि गाडी चलाउन रोक लगाइन्छ।
दक्षिण कोरियामा परीक्षामा चिट चोरेको भेटिए विद्यार्थीले १० वर्षसम्म पुनः परीक्षा दिन नपाउने र उनीहरूमाथि फौजदारी अभियोगसमेत लाग्न सक्ने व्यवस्था छ।