नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सभापतिमा गगन थापालाई हटाएर पुन: शेरबहादुर देउवालाई ल्याउन नसकिने प्रतिक्रिया दिएका छन्।
बरू निवर्तमान सभापति देउवासहितका नेताहरूलाई पद सिर्जना गरेर व्यवस्थापन गर्न सकिने उनले बताए।
‘मिल्ने वा एकताको कुराभन्दा पनि बाहिर रहनुभएका शीर्ष केही नेताहरूलाई पार्टीमा ल्याउन हामी तयार छौं। सभापतिबाट गगन थापालाई हटाएर अब शेरबहादुर देउवालाई ल्याउन सकिँदैन, त्यसबाहेक केही उपाय छ भने अहिले पनि त्यो लागू गर्न हामी तयार छौं,’ धादिङमा आज भएको पत्रकार सम्मेलनमा उनले भने, ‘शेरबहादुर दाइलाई सम्मान पुग्ने त्यस्तो अभिभावकीय पद के हुन्छ, त्यो तयार गर्न पनि हामी सकारात्मक छौं।’
सभापतिभन्दा तल र आफूहरूभन्दा माथिका पदमा को-को नेतालाई राख्नुपर्ने हो आफूहरू तयार रहेको पनि उनले बताए।
उनले १५ औं महाधिवेशन असोज १८ देखि २२ गतेसम्म सम्पन्न गरिसकिएको बताए। त्यसबाट आएको नेतृत्वसहित कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको पनि उनले बताए।
‘त्यो महाधिवेशनमा कुनै नेतालाई सभापति वा पदाधिकारी बन्ने इच्छा थियो भने प्रतिस्पर्धा गरेको भए हुन्थ्यो,’ उनले भने, ‘बाहिर रहनुभएका नेताहरू पार्टीभित्रै बसेर प्रश्न गरेको भए हुन्थ्यो। विशेष महाधिवेशन गलत भन्ने लागे मुद्दा स्थापित गरेर पार्टीभित्रैबाट आउन सक्नुहुन्थ्यो नि!’
उनले विधिको शासनभित्र एकै पार्टीको दुई सभापति नहुने पनि बताए।
‘एकै पार्टीको दुई सभापति हुन सक्छ? जिल्ला सभापति २ जना हुन सक्छ? जिल्लामा दुई समिति हुन सक्छ? दुई पार्टीले एकै झण्डा बोकेर हिँड्न सक्छ, यो विधिको शासनभित्र पर्छ?,’ उनले भने, ‘अदालतले कांग्रेसबारे ५ पटक फैसला गरेको छ, यो स्वीकार गर्नुपर्यो।’