नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग असन्तुष्ट भएर बाहिर रहेका नेता तथा कार्यकर्तासँग संवाद गरी पुनः पार्टीमा फर्काउने पहल गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै भट्टले आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै पार्टीभित्र एकता बलियो बनाउन असन्तुष्ट नेता–कार्यकर्तासँग संवाद गर्नुपर्नेमा जोड दिएका हुन्।
‘अब विस्तारै स्थानीय र प्रदेश निर्वाचन आउँदैछ। त्यसको तयारीमा हामी जुट्नुपर्छ। तर निर्वाचनको तयारी मात्र पर्याप्त छैन। विगतका विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएर बाहिर बसेका साथीहरूलाई पुनः घर फर्काउने गरी संवाद थाल्नुपर्छ,’ उनले भने।
भट्टले आगामी निर्वाचनमा युवालाई आरक्षण वा कोटा छुट्याउनुभन्दा उनीहरूलाई सक्षम बनाएर अवसर सिर्जना गर्नुपर्ने धारणा राखे। १५औँ महाधिवेशनबाट केन्द्रीय समितिमा आएका नयाँ पुस्ताका नेताहरूलाई लक्ष्य गरी प्रशिक्षण सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
‘निर्वाचनमा युवालाई आरक्षण वा कोटा छुट्याउने होइन। उनीहरूलाई दक्ष बनाउने र आफै अवसर खोज्न सक्ने जनशक्ति पार्टीले निर्माण गर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय समितिमा धेरै नयाँ साथीहरू आउनुभएको छ। नयाँ पुस्ताका नेताहरूलाई प्रशिक्षित गरेर थप सशक्त बनाउन जरूरी छ।’
बैठकमा उनले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन पनि पार्टी नेतृत्वलाई आग्रह गरे।
विशेषगरी भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकले अझै उचित राहत र पुनर्स्थापना पाउन नसकेको विषय उनले उठाए। असोज २५ गतेको बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनले पीडितले राहत रकमसमेत पाउन नसकेको बताए।
‘सरकारी कोषमा पैसा छ, तर बाढीपीडितको हातमा राहत रकम पुगेको छैन। पुनर्स्थापनाका काम पनि अघि बढेका छैनन्,’ उनले भने, ‘सभापतिज्यू, पदाधिकारी, केन्द्रीय सदस्य र सांसद साथीहरूको ध्यान अब सरकारलाई घचघच्याउने र बाढी प्रभावित नागरिकका समस्या समाधान गर्न पहल गर्नेमा केन्द्रित हुनुपर्छ।’
त्यसैगरी, काठमाडौंका नदी किनारबाट हटाइएका सुकुमबासीको उचित व्यवस्थापन हुन नसकेको विषयमा उनले पार्टीले सरकारलाई दबाब दिनुपर्ने बताए। सरकारले हतारमा सुकुमबासी बस्ती हटाए पनि उनीहरूको व्यवस्थापन गर्न नसकेको उनको भनाइ थियो।
‘सुकुमबासीको समस्या समाधानका लागि केन्द्रीय समितिदेखि संसद् र आवश्यक परे सडकबाट समेत सरकारलाई घचघच्याउनुपर्छ,’ उनले भने।
भट्टले सुशासनको नारा दिएर आएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे। बढ्दो महँगीका कारण नागरिकको दैनिक जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै उनले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए।
प्रधानमन्त्रीको हालैको भारत भ्रमणबारे टिप्पणी गर्दै उनले हवाई रुटलगायत केही विषय महत्वपूर्ण भए पनि सीमा विवादका विषयमा प्रष्टसँग कुरा नउठ्नु दु:खद भएको बताए।