नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरूद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए।
गत मंसिर ८ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी छ।
बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैली, सुशासन, संवैधानिक अंगमाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता, आर्थिक मन्दी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका विषयमा विस्तृत धारणा प्रस्तुत गरे।
महामन्त्री पौडेलले सरकारले संसद्लाई हेपेको, महँगीको भार थोपरेर नागरिकलाई बेवास्ता गरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको आरोप लगाए।
सरकार गठन भएयता मन्त्रीहरू तथा प्रधानमन्त्री कार्यालयको सचिवालय नै विभिन्न विवादमा मुछिँदै गएको र सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको भन्दै उनले ती विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताको माग गरे।
उनले न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक आयोगहरूको स्वायत्ततामाथि सरकारबाट भइरहेको हस्तक्षेप तत्काल रोकी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकार तथा आलोचकहरूलाई तर्साउने र प्रतिशोध साँध्ने सरकारी प्रवृत्तिको विरोध गर्दै उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस स्पष्ट अडानका साथ उभिने बताए।
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न र देशभित्रै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न ठोस आर्थिक सुधारका कार्यक्रम ल्याउन महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए।
वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टर तथा बस्तीहरूबाट सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई हटाउने कदमको विरोध गर्दै उनले संविधानप्रदत्त आवासको हक सुनिश्चित गर्न माग गरे।
रसुवाको भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी गर्न र पीडित परिवारलाई घोषणा गरिएको राहत तत्काल उपलब्ध गराउन उनले आग्रह गरे।
राजनीतिक दलहरूबीच भएका पछिल्ला छलफलहरूको समीक्षा गर्दै समयमै स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारलाई दबाब दिनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको उनले स्पष्ट पारे।
वडाका मुद्दा र पार्टी रूपान्तरणको खाका बनाउन जोड
पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न तल्लो तहका बैठकहरूमा स्थानीय मुद्दा अनिवार्य एजेन्डा बन्नुपर्ने महामन्त्री पौडेलको भनाइ छ।
मञ्चमा गएर एकै प्रकारको भाषण गर्ने पुरानो शैली बदल्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाका तीन वटा मुद्दा बैठकको एजेन्डा बनून्। एउटा बैठकमा कुनै किशोर वा किशोरीले ‘मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो’ भनेर गर्व गर्ने अवस्था बनोस्। ज्येष्ठ नागरिकहरूले ‘कांग्रेसले मेरो बारेमा बोल्यो’ भनेर महसुस गरून् र समाजका सबै समुदाय, वर्ग तथा जातिले ‘कांग्रेसले हाम्रो बारेमा आफ्नो एजेन्डा बनायो’ भन्ने अनुभूति गर्न सकून्।’
कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय भएको र यसको विधान मुलुककै सबैभन्दा समावेशी रहेकाले यसलाई जनस्तरमा प्रचार गर्नुपर्ने उनले बताए।
आगामी मङ्सिर १५ गतेदेखि सुरू हुने ‘हामी तयार छौँ’ अभियानलाई प्रभावकारी बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई आगामी निर्वाचनका लागि गाउँ–टोलसम्म परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीभित्रका विगतका असन्तुष्टिहरूलाई संवादमार्फत समाधान गर्न आग्रह गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमा हुने गुटगत टीकाटिप्पणी तत्काल रोक्न सार्वजनिक आह्वान गरे।
कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको उनको जिकिर थियो। उनले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए।
केवल सत्ता केन्द्रित राजनीति नगरी आम नागरिकका दैनिक जीविकाका सवालहरूलाई संसद् र अन्य माध्यमबाट सशक्त रूपमा उठाउन पार्टीका सांसदहरूलाई अपिल गर्दै उनले भने, ‘जनताका वास्तविक मुद्दा बोकेर रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र जोगिन्छ र कांग्रेस थप बलियो शक्तिका रूपमा उभिन्छ।’