आफ्नो घर वा भाडामा बसेको कोठा बन्द गरेर तपाईं दसैं मनाउन पुर्ख्यौली घर या अन्यन्त्र जाँदै हुनुहुन्छ?
आफ्नो घर वा कोठा कत्तिको सुरक्षित भएको ठान्नुहुन्छ? दसैं मनाउन पुर्ख्यौली घर या अन्यन्त्र जाँदा घर वा कोठामा चोरी, डकैती भयो भन्दै तपाईं आत्तिनुसमेत हुन्छ।
काठमाडौं र ललितपुर प्रहरी परिसरले भने निर्धक्कका साथ गाउँमा गएर दसैं मनाउन सबैसँग आग्रह गरेको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदी र ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले चाडवाडका बेला उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिने बताएका छन्।
दसैंका बेला उपत्यकामा बढी हुने भनेको चोरी र डकैती हो।
कतिपय स्थानमा झै झगडा र कुटपिटसमेत हुने गरेको छ। जुवातास र अवैध मदिरा उत्पादन तथा विक्रीलाई पनि प्रहरीले चाडवाड विशेष सुरक्षाको चुनौतीका रूपमा लिएको छ।
चाडवाडको मुखमा बैंक, वित्तीय संस्था र सुन पसलमा चोरी र लुटपाट, भीडभाड हुने स्थानमा चोरी हुन सक्ने भन्दै प्रहरीले सावधानी अपनाउनसमेत सबैसँग आग्रह गरेको छ।
प्रहरीले चाडवाड विशेष योजना अघि सार्दै घर, सरकारी कार्यालय भएको स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने स्थान, काठमाडौं प्रवेश गर्ने नाका, सडक र गेष्टहाउस तथा होटलमा विशेष निगरानी राख्न सुरू गरिसकेको छ।
राजधानीका १४ स्थानमा ६० पैदल गस्ती टोली परिचालन गरिने भएको छ। यसैगरी ६७ स्थायी/ अस्थायी पिकेट ५७ स्थान,सवारी गस्ती खटिने भएको छ।
त्यस्तै, ३५ साइकल गस्ती टोली, ८३ मोटरसाइकल गस्ती टोली, मोटर गस्ती टोली, सूचना संकलन टोली, सिल एण्ड सर्च परिचालन गरिने छ।
यसैगरी समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रमहरू पनि सञ्चालन गरिने भएको छ।
आफ्नो घर छोडेर जाँदा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई अनिवार्य जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ।
कुनै शंकालु व्यक्ति/ चिज वस्तु देखेमा वा कुनै घटना घटेमा तत्काल १०० मा फोन गर्न प्रहरीले अनुरोध गरेको छ।