बझाङमा नदीमा बगेर दुई जना किशोर बेपत्ता भएका छन्।
कालंगा नदीमा शुक्रबार साँझ पौने सात बजेतिर जालले माछा मार्ने क्रममा केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ जडिबगरका वर्ष १४ का जगत अधिकारी बेपत्ता भएका थिए।
यस्तै, शनिबार दिउँसो २ बजेतिर सोही नदीमा केदारस्यूँ कै वडा नम्बर १ रायलका वर्ष १३ का रोशन दमाई पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।
प्रशासनबाट विपदका बेला सावधानी अपनाउन सूचना गरिएको उनले बताए।
प्रहरीले गस्ती बढाएको र खोला तटीय क्षेत्रमा नजान आग्रह गरिरहेको भए पनि कतिपय स्थानीय माछा मार्न, बाढीबाट दाउरा निकाल्न र पौडी खेल्न जान क्रम नरोकिएपछि यस्ता घटना बढेको बमले बताए।