लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन राडार गनमार्फत् सवारी साधनको गति निगरानी गर्न शुरु गरेको छ।
तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले गति नियन्त्रण गर्ने अभियान शुरु गरेको हो।
आइतबार बुटवल कालिकानगरमा राडारगन मार्फत् गति निगरानी गर्ने कार्यको थालनी गरिएको हो।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी समेत तिव्र गतिमा चलाउंदा दुर्घटनाको जोखिम बढेको बताए।
उनले सडकमा तोकिएको भन्दा तीव्र गतिमा चल्ने सवारीसाधनलाई निगरानी गरि कारवाही गरिने बताए।
सवारी साधन ६० मिटर अगाडीको दुरीमा आइपुग्दा राडार गनको क्यामेराले नम्बर प्लेटमा फोकस गरेपछि उक्त सवारी साधनको फोटो सहित गति मापन हुने विकको भनाइ छ।
बजार क्षेत्रमा समेत मालबाहक तथा यात्रुवाहक सवारीसाधन तीव्र गतिमा गुड्दा दुर्घटना हुने गरेका छन्।
अधिकांश बजार क्षेत्रमा २० देखि ४० किलोमिटर प्रतिघण्टा गति कायम गरिएको भए पनि ५० देखि ७० को गतिमा चल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
जसका कारण सडकमा हुने दुर्घटनाको प्रमुख कारण तीव्र गति हुने गरेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी प्रदेशमा भएका ५२ प्रतिशत सडक दुर्घटनाका कारण तीव्र गति पाइएको छ।
एक वर्षको अवधीमा लुम्बिनी प्रदेशमा भएका ११ सय २२ वटा सवारी दुर्घटनामध्ये ५ सय ७८ अर्थात् ५२ प्रतिशत सवारी दुर्घटना तीव्र गतिका कारण भएको विकले बताए।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा धेरै हो।
अघिल्लो वर्ष १ हजार २९ वटा सवारी दुर्घटना हुंदा ४ सय २ अर्थात् ३९ प्रतिशत तिव्र गतिका कारण भएका थिए।
लुम्बिनी प्रदेशमा सडक दुर्घटनामा परि गत आर्थिक वर्षमा ४ सय ८३ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा त्यो भन्दा धेरै ६ सय २३ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो।