ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरको राजकुलो र पोखरी ब्युँताउने बताएका छन्।
बुधबार पद्यसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ विमोचन क्रममा उनले ललितपुरको टीकाभैरव राजकुलो र पोखरी ब्युँताउन पहल गर्ने बताएका हुन्।
पाटनका हितिहरूमा बर्खायाममा लबालब पानी हुन्छ। तर बर्खा सकिएलगैत्तै हितिहरूमा सुख्खा लाग्छ। वर्षभर हितिमा पानी खसाल्न नसकेकाले उनले आफूलाई यो कार्यमा अहिलेसम्म ‘असफल’ बताए। हिति ब्युँताउन सुरूमा उनले राजकुलो र पोखरी ब्युँताउन पर्ने बताए।
हिति प्रणालीमा डेढ दशक अध्ययन गरेका पद्यसुन्दर जोशीले पाटनको टीकाभैरव राजकुलो फर्काउन सकिने बताएका छन्। त्यसैले पाटनको राजकुलो फर्काउन आफू प्रतिबद्ध रहेको मेयर महर्जनले बताए।
जावलाखेल नजिकैको इकु हिति र हिकु हितिमा चिडियाखानाभित्र पोखरी हुनाले वर्षभर पानी आउने गरेको बताउँदै उनले भने, ‘म कुनै इन्जिनियर होइन। तर यी हितिमा वर्षभर पानी आउनुले हाम्रो हिति प्रणाली पोखरीसँग कसरी जोडिएको छ भन्ने देखाउँछ। त्यही भएकाले पोखरी ब्युँताउन सकियो भने हितिमा वर्षभर पानी आउँछ भन्ने मलाई विश्वास छ।’
उनले अगाडि भने, ‘पोखरी ब्युँताउने कामलाई मैले प्राथमिकतामा राखेको छु। र त्यो काम टुंगोमा नपुर्याएसम्म म यसमा लागिरहन्छु।’
महर्जनले अतिक्रमण भएर ब्युँताइने क्रममा रहेका दुइटा पोखरीको नाम लिए–सप्तपाताल पोखरी र पलेस्वाँ पोखरी (कमल पोखरी)।
लगनखेलको अशोक चैत्य नजिकैको सैनिक ब्यारेकमा पलेस्वाँ पोखरी छ। यो पोखरीसँग आफ्नो बाल्यकालको सम्झना जोडिएको बताउँदै उनले भने, ‘सानोमा हामी फुटबल खेल्थ्यौं र गर्मी भएपछि यो पोखरीमा पौडी खेल्न आउथ्यौं। हामीले खेल्दा खेल्दैको पोखरी पछि सेनाको अतिक्रमणमा पर्यो।’
करिब ३० रोपनी उक्त जग्गा छाड्नको लागि महानगरले लामो समयदेखि सेनासँग छलफल गरेको थियो।
हाल सेनाले महानगरसँग पोखरी छाड्ने र सार्वजनिक गर्ने समझदारी गरेको छ। त्यही जानकारी दिँदै महर्जनले भने, ‘सेनाले दिन्छु भनेको समयमा हामीले लिइहाल्नुपर्छ र काम थाली हाल्नुपर्छ। नत्र पछि के हो के! यहाँ छिट्टै कमलको फूल फुलाउने मेरो इच्छा छ।’
यही पोखरीको पारी अशोक स्तुपसँगैको करिब १५ रोपनी सप्तपाताल पोखरी पनि लामो मुद्दा लडेर स्थानीयले जितेका छन्।
पोखरीको जग्गामा बनेका विद्यालय भवन लगायत संरचना हटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
हाल यसको डिपिआर तयार भइसक्यो। यी दुबै पोखरी बन्ने हो भने लगनखेलमा करिब ४५ रोपनीको दुई ठूलो पोखरी र खुला स्थान हुनेछ।
यहाँका पोखरी बनिसकेपछि पाटनका कुतिसौगः पुखु (पोखरी), खपिंछे पुखु, चायासः पुख लगायत साना-साना पोखरीमा पानी भरिन थाल्नेछन्। सँगैका हितिहरूमा पनि पानी पुग्नेछ।
महर्जनले ‘ग्रिन र ब्लु प्रोजेक्ट’ अर्थात् ‘हरियो र निलो प्रोजेक्ट’ भनेर हरियाली र पोखरी ब्युँताउने कामलाई महानगरले प्रमुख प्राथमिकता दिई काम गरिरहेको पनि बताए।