संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ।
आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर।
पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन्। अहिले उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन्।
बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए। शारीरिक अशक्तता भएर पनि बुढामगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन्।
विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताए।
उनले आफूले सगरमाथा आरोहणमार्फत् विश्व कीर्तिमान राख्न चाहेको बताए।
उनले भने, ‘हामी अपांग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला। कसैको हात कमजोरी होला। कसैको आँखा कमजोरी होला। त्यो भन्दैमा हामी केही गर्न सक्दैनौं भन्ने कुरा होइन क्या। सबैको कमजोरी छ। सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैं कमजोरी होला। विद्यार्थीहरू पनि कोही गणितमा कमजोर होलान्, कोही अंग्रेजीमा। म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे। कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ। त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ।’
उनले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरूलाई गौरवान्वित बनाउने बताए।
‘हामी अपांग व्यक्तिहरू पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौं। त्यो एउटा सन्देश दिलाउनु हो। त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ। जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ। नेपालीहरूको स्प्रिट देखाउँछजस्तो लाग्छ मलाई’, उनले भने, ‘आशा छ यसले कुनै न कुनै व्यक्तिहरूलाई कुर्सीबाट उठेर एक, दुई पाइलामात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडि सार्न प्रेरणा दियो भने म एकदम खुसी हुनेछु।’
आफूले सानो प्रेरणा दिन पाए भने पनि ठूलो उपलब्धि हुने उनले बताए।
‘मैले नेपाल र संसारलाई म आरोहणमार्फत् सर्भिस दिन चाहन्छु। मेरो मुख्य उद्देश्य नै त्यो हो। मेरा उद्देश्यमध्ये यो एउटा चिज हो। सगरमाथा मेरो अन्तिम चिज होइन। सगरमाथा हाम्रो देशमा छ। म सानैदेखि प्रेरित भएको हो यो सगरमाथासम्बन्धी,’ उनले भने।
हरेक मानिससँग केही न केही कमजोरी भए पनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने उनले बताए।
उनले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताए।
उनले आफ्नो सगरमाथा आरोहणले जीवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरूलाई प्रेरणा दिने उनको भनाइ छ।
सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे।
उनले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनसायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताए।
उनले भने, ‘म १९ वर्षसम्म यहीँ जन्मिएको। यहीँ हुर्किएको। विदेशमा जाँदा, काम गरिराख्दा कुनै न कुनै मनको कुनामा चाहिँ के लाग्छ भने म १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँ। मेरो दुइटा खुट्टा पनि दिएँ। मेरो अरू समय दिएँ। मेरो आधा युवावस्था दिएँ। तर मैले मेरो देशलाई के दिएँ त? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने। मैले सर्भिस गर्दा पनि जहिल्यै पनि हामीलाई परिराख्थ्यो। देशलाई कसरी पब्लिक सेवा दिन सकिन्छ भन्ने मैले सोचिराखेको थिएँ। त्यो गर्दाखेरी म आफैं अपांग भएर, आफैं संघर्षशील भएको कारणले यसको सचेतना कत्तिको जरूरी छ, भनेर मैले बुझेको छु। सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरूरी छैन। उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने एउटा सचेतना जरूरी छ। सरकारलाई पनि यिनीहरूलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा जरूरी छ।’
तत्कालीन रोल्पा निरुल गाविस हालको थवाङ गाउँपालिकामा जन्मेका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताए।
कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढेको उनले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढेका हुन्। त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तीर्ण गरेको उनी बुवाको सपनाबमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भए।
उनले बुवाको सपना पूरा गर्न र अग्रजहरूलाई देखेर पनि बेलायती सेनामा भर्ती भएको बताए। तत्पश्चात् १५ वर्षसम्म विश्वका विभिन्न देशहरूमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरूमा सामेल भएको उनको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो। त्यसपछिको दुई वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उनी बताउँछन्।
स्की, कायाकिङ, ह्विलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटी फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जितेका उनी दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउँछन्।
उनी अपांगता भएका व्यक्तिहरूप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिन्छन्।
परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उनको भनाइ छ।
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको भन्दै उनले सबै संरचनाहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए।
केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लागेका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसके पनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेका छन्।
यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्।
उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगविच्छेदन) डबल एम्प्युटी गर्ने बने। उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन्।