चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ।
आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले बताए।
यस आर्थिक वर्षमा यससहित दुई गैंडाको बच्चाको उद्धार गरिएको छ। बाटुली पोखरी क्षेत्रबाट एक वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ।
यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका दुई गैंडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ।