मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ।
धनुषाधाम नगरपालिका–५ घर भएका उनको मंगलबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ढल्केवरबाट धनुषाधाम फर्किने क्रममा आफैंले चलाएर आउँदै गरेको मोटरसाइकल मिथिला नगरपालिका–६ स्थित ढल्केवरमा अनियन्त्रित भइ सडकछेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
उनका अनुसार साथीहरूसँगको जमघट सकेर पत्रकार यादव प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकलमा सवार भइ घर फर्किने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलपछाडि सवार भएका पत्रकार यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन्। प्रादेशिक अस्पताल जनकपुरमै उनको उपचार भइरहेको छ। पत्रकार यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।