दाङमा लाठी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
लमही नगरपालिका-९ स्यालेका ४४ वर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले लाठी प्रहार गरी ४२ वर्षीया श्रीमती इश्वरी कुमालको हत्या गरेका छन्।
मंगलबार बेलुका ८ बजेतिर हात्तीखालस्थित पसलबाट फर्किने क्रममा घर नजिकै बाटोमा मदिराले मातेका श्रीमानले सामान्य विवादकै क्रममा श्रीमतीमाथि लाठी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको एक जना प्रहरी अधिकारीले बताए।
ती प्रहरी अधिकारीका अनुसार श्रीमती पसलमा चामल किन्न भनेर गएकी थिइन्।
उनलाई लिन भनेर श्रीमान पनि पसलमा गएका थिए। श्रीमान-श्रीमती दुबैले सोही पसलमा मदिरा सेवन गरेका थिए। मदिरा सेवन पछि मातेकी श्रीमती घरमा जान नमानेपछि श्रीमानले घर तर्फ लगेको स्थानीयले बताएका छन्।
बाटोमा उनीहरू बीचमा सोही कुरामा विवाद हुँदा श्रीमानले श्रीमतीको टाउको लगायत विभिन्न भागमा लाठी प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको एक प्रहरी अधिकारीले बताए।
श्रीमतीको हत्या गरी फरार भएका कुमाललाई जलकुन्डीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। हत्या आरोपी कुमाल वडा प्रहरी कार्यालय लमहीको प्रहरी हिरासतमा राखिएका छन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले घटनाबारे थप अनुसन्धान गरी बुधबार बेलुका आरोपितलाई सार्वजनिक गरिने बताए।
हत्या गरिएकी इश्वरीको शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ। उनीहरूका तीन छोरी र एक छोरा रहेको स्थानीयले जानकारी दिएका छन्।