नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीको भ्रष्टाचार मुद्दामा जोडिएका दुई जनालाई बकपत्रमा उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।
भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको भन्ने मुद्दामा उड्डयनमा कार्यरत रहेका प्रभाकरचन्द्र मल्लिक र सुभाष झालाई बकपत्रमा उपस्थित हुन आदेश भएको हो।
शुक्रबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। उनीहरूलाई कात्तिक १८ गते उपस्थित हुन भनिएको छ।
उपस्थित भएमा इजलासमा पेस गर्न र उपस्थित नभएको अवस्थामा पक्राउ गरी बकपत्र गराउन पनि आदेश भएको छ।
नलिन्चोकको हेलिपोर्ट निर्माण भएपछि प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा अध्ययन समिति बनेको थियो।
पछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदिप अधिकारीसहित ६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको हानी पुग्ने गरी भ्रष्टाचार गरिएको दाबी अख्तियारको थियो।