सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन्।
साथै, उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
'पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,' उनले लेखेका छन्।
यसअघि प्रधानमन्त्रीको सचिवालयले यो घटनामा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी नदिइएको बताएको थियो।
'पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन। यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन। यो घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसक्नुभएको छ,' प्रेसविज्ञ दिपा दाहालले सेतोपाटीसँग भनिन्।
नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल पक्राउ परेका थिए।
त्यस्तै प्रहरीले नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पनि पक्राउ गर्न प्रहरी पुगेको थियो। प्रहरी टोली साढे दुई घन्टा नयाँ पत्रिकाको कार्यालयमा बसेपछि निस्किएका थिए।
उनीहरूले भोलि बिहान १० बजे मैनालीलाई साइबर ब्युरोमा उपस्थित हुने गरी सम्पादक खगेन्द्र पन्तलाई मौखिक उर्दी दिएर निस्किएका थिए।