सल्यानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। थप ७ जना घाइते भएका छन्।
दुर्घटनामा परी जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए।
घाइते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक, सोही वडाकी ५८ वर्षीया सुशीला चलाउने, १५ वर्षीय कमल बुढाथोकी, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १० वर्षीय युवराज परियार र सिद्धकुमाख–३ की ७ वर्षीया विमला बुढाथोकी छन्।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार घाइतेमध्ये देवहादुर विक र सुशीला चलाउनेलाई दाङका लागि रिफर गरिएको छ।
त्यस्तै, कमल बुढाथोकी, विमला बुढाथोकी र युवराज परियारलाई बाँकेको नेपालगन्जका लागि रिफर गरिएको छ।
अन्य घाइतेको सल्यानमै उपचार भइरहेको छ।
गाडीमा कुल ११ जना सवारमध्ये चालकको अवस्था सामान्य छ। चालक प्रहरी नियन्त्रणमा छन्।
शुक्रबार बेलुकी साढे ६ बजेतिर जिल्लाको सिद्धकुमाख–२ रातामाटे खोलाबाट लु.१ ज २३६८ नम्बरको जिप सडकबाट झन्डै १५० मिटरमुनि खसेको थियो।
श्रीनगरबाट टाकुरा गाउँ जाने भित्री कच्ची सडकखण्डमा जाँदै गरेको जिप दुर्घटनामा परेको थियो।
चालकले पानी परेका कारण उकालोमा जिप चिप्लिएर खसेको प्रहरीसमक्ष बयान दिएका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।