विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको बचत अपचलनमा सहकारीका अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन्।
आइतबार जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको हो।
न्यायाधीश सीता शर्माको अधिकारीको इजलासले उनीहरुको कसुर ठहर गरेको श्रेस्तेदार मणि पोखरेलले जानकारी दिए। उनका अनुसार सजाय निर्धारण गर्न भने बाँकी छ।
सहकारीका सञ्चालकहरु आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेलले भने सफाइ पाएको पोखरेलले जानकारी दिए।
विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाइघाट, र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर २१ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।
दोषी ठहर भएका तीनै जना पुर्पक्षका लागि थुनामा छन्।
तुलसी सहकारीका अध्यक्ष शर्मा भक्तपुरको शिवशिखर सहकारीको रकम अपचलन प्रकरणको पनि आरोपी हुन्।