भारतको असम राज्यस्थित गुवाहाटीमा होटलभित्र गोली चल्दा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ।
घटनामा एक जना घाइते भएका छन्।
सोमबार राति करिब ९ बजे गुवाहाटीको उलुबारी क्षेत्रमा रहेको होटल बिलास इनमा गोली चलेको हो।
चार जनाको घटनास्थलमै मृत्यु भएको भारतीय अखबार द हिन्दुले जनाएको छ।
गम्भीर घाइते भएका ४८ वर्षीय नारायण दासको गुवाहाटी मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
गोली लागेर घाइते भएका ४२ वर्षीय सत्येन्द्र पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार उनको अवस्था स्थिर छ।
घटनामा होटलका सञ्चालक परिवारका चार जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
मृत्यु हुनेमा होटलकी मालिक हेलेना भराली र उनका छोरा देबर्षि भराली छन्। मृतक पाँचौं व्यक्ति र घाइते पाठक पनि होटल सञ्चालक परिवारको गाउँका बासिन्दा रहेको गुवाहाटीका प्रहरी आयुक्त पार्थसारथी महन्ताले बताएका छन्।
घटनाको करिब एक घण्टाभित्र प्रहरीले गोली चलाएको आरोपमा घनकान्त गोगोईलाई पक्राउ गरेको छ।
प्रहरीले उनीसँग लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोल पनि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार गोगोईले गत वर्ष होटल भाडामा लिएका थिए।
होटल सञ्चालक र उनीबीच भाडा सम्झौतासम्बन्धी विवाद भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
'प्रारम्भिक अनुसन्धानमा होटलका मालिक र गोगोईबीच भाडा सम्झौतासम्बन्धी विवाद रहेको आशंका गरेका छौं। अनुसन्धान प्रारम्भिक चरणमै छ र सबै पक्षबाट अनुसन्धान भइरहेको छ,' प्रहरी आयुक्त महन्ताले भने।
घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।