काठमाडौंको जडिबुटीमा आन्दोलनरत यातायात व्यवसायीले ओखलढुंगाबाट कोटेश्वरसम्म आएको यात्रुवाहक गाडीमा तोडफोड गरेका छन्।
मंगलबार बेलुका ५ बजेतिर काठमाडौं वडा ३२ जडिबुटीस्थित मनोहरा पुल नजिक सडक खण्डमा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वको भीडले उक्त गाडीमा तोडफोड गरेको जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार क्षेत्रीको नेतृत्वमा करिब १५० जना भेला भई सार्वजनिक यातायात चल्न नदिने विरोध कार्यक्रम गरिएको थियो। सोही क्रममा उक्त समूहले ओखलढुंगाबाट यात्रु लिई कोटेश्वरसम्म आएको ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको बायाँ साइडको सिसामा समेत तोडफोड गरी क्षति पुर्याएको हो।
सो भीडलाई नियन्त्रण गर्न प्रहरी नायब निरीक्षक रूपेश कुमार द्धिवेदीको कमाण्डमा १० जना खटिएका थिए।
घटनास्थल प्रहरी प्रभाग कोटेश्वरबाट ११०० मिटर टाढा थियो।
सोमबार नै सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भए पनि आज पनि उनीहरूले आन्दोलन जारी राखेका थिए।