बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब' अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमका भूभागमा पुग्ने सम्भावना रहेको जनाएको छ।
नेपालमा यसको प्रभाव भने बिहीबारदेखि पर्ने महाशाखाले जनाएको छ।
यसको प्रभावले नेपालका पाँच प्रदेशमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा यसको प्रभाव बढी पर्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्छ।
लुम्बिनी प्रदेशका केही ठाउँमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
वर्षाको प्रभावसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पर्यटकलाई नजान र गइसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन तथा जोखिमयुक्त सडक र पहिरो जान सक्ने क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
हिमाली क्षेत्रमा हिमपातको जोखिम
चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम बढ्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
भारतमा तयारी
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यहाँ पनि सतर्कता बढाइएको छ।
भारतको मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्छ।
त्यसबेला निरन्तर हावाको गति प्रतिघन्टा ११५ देखि १२५ किलोमिटर र झोक्काको गति १४० किलोमिटरसम्म पुग्न सक्ने पूर्वानुमान छ।
आन्ध्र प्रदेश र ओडिशामा राष्ट्रिय तथा राज्य विपद् प्रतिकार्य बलका टोली तयारी अवस्थामा राखिएका छन्।
सेना, जलसेना, वायुसेना र तटरक्षक बललाई पनि उद्धार तथा राहतका लागि तयार रहन भनिएको छ।
आन्ध्र प्रदेशका जोखिमयुक्त जिल्लामा गर्भवती महिलालाई स्वास्थ्य केन्द्र तथा अस्पतालमा सारिएको र केही जिल्लामा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चक्रवातका कारण आन्ध्र प्रदेशका होचा तटीय क्षेत्रमा समुद्री पानी पस्न सक्ने चेतावनीसमेत दिइएको छ।
ओडिशाका जोखिमयुक्त जिल्लामा पनि उद्धार तथा राहतको तयारी बढाइएको छ।
भारतमा चक्रवातको प्रत्यक्ष प्रभाव तटीय क्षेत्रमा पर्ने अनुमान गरिए पनि त्यसको अवशेष उत्तरपश्चिम भारत हुँदै नेपालतर्फ सर्न सक्ने र अर्को पश्चिमी वायु प्रणालीसँग अन्तरक्रिया भए वर्षा थप तीव्र हुन सक्ने सम्भावना पनि छ।