हिमालमा बरफ कहाँ हुन्छ?
सामान्यतया हामी हिमालको टुप्पो, हिमनदी वा हिउँले ढाकिएका भिराला पाखामा बरफ देख्छौं।
तर हिमाली क्षेत्रमा बरफको अर्को रूप पनि हुन्छ, जुन बाहिरबाट सजिलै देखिँदैन।
माथि ढुंगा हुन्छ, तल बरफ।
ढुंगा र बरफ मिलेर बनेका, बिस्तारै तलतिर सर्न सक्ने यस्ता संरचनालाई वैज्ञानिकहरू 'रक ग्लेसियर' भन्छन्।
सोलुखुम्बुको गोक्यो क्षेत्रमा वैज्ञानिकहरूले यस्तै एउटा संरचनाभित्र लुकेको बरफ अध्ययन गरेका छन्। जमिनी सतहमुनिको अवस्था हेर्न सक्ने राडारबाट गरिएको अध्ययनले त्यहाँ ढुंगामुनि दुई ठूला बरफका पिण्ड रहेको देखाएको छ।
ती दुई पिण्डमा करिब ५ लाख २३ हजार घनमिटर पानी बराबरको बरफ रहेको अनुमान छ।
अर्थात्, करिब ५२ करोड ३० लाख लिटर पानी बराबरको बरफ।
यो भनेको जमिनमुनि पानीको ताल भेटिएको भन्न खोजेको होइन। बरफ पग्लियो भने कति पानी निस्कन्छ भन्ने हिसाब मात्र हो।
यो खोज गोक्यो क्षेत्रमा लुकेको बरफको मात्रा थाहा पाउन मात्र महत्त्वपूर्ण छैन। यसले हिमाली क्षेत्रको बरफ र भविष्यको पानी आपूर्तिबारे नयाँ सम्भावनाको ढोका खोल्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
हिमाली क्षेत्रमा करिब २५ हजार यस्ता रक ग्लेसियर छन्। तर त्यसमा पुरिएको बरफ कस्तो अवस्थामा छ, कसरी फैलिएको छ र कति छ भन्नेबारे हामीलाई लगभग थाहै छैन।
यसले हिमालमा जम्मा भएर बसेको बरफको परिमाण बुझ्न कठिन बनाएको छ। बरफको भण्डार नै राम्ररी थाहा नभएपछि भविष्यमा यस क्षेत्रबाट कति पानी उपलब्ध हुन सक्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ।
यही अभाव मेट्न अनुसन्धानकर्ताहरू सोलुखुम्बुको गोक्यो पुगेका थिए।
उनीहरूले राडारको सहायताले जमिनमुनि हेरे र लुकेको बरफको आकार तथा मात्रा अनुमान गरे।
अनुसन्धानकर्ताहरूका अनुसार हिमालको कुनै रक ग्लेसियरभित्र रहेको बरफबारे स्थलगत मापनमा आधारित यस्तो अध्ययन गरिएको यो पहिलो पटक हो।
अध्ययन सन् २०२६ सेप्टेम्बर २ मा 'जियोफिजिकल रिसर्च लेटर्स' मा प्रकाशित भएको छ। यसको शीर्षक 'फर्स्ट इम्पिरिकल असेसमेन्ट अफ आइस कन्टेन्ट फ्रम अ हिमालयन रक ग्लेसियर' छ।
अध्ययन गरिएको रक ग्लेसियर सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्छ। यो सगरमाथाबाट करिब २३ किलोमिटर दक्षिण–पश्चिममा छ।
करिब शून्य दशमलव ६८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो संरचना लगभग ५ हजार ३०० मिटर उचाइबाट तल झरेको छ। यसको तल्लो भाग ४ हजार ७१६ मिटर उचाइमा रहेको गोक्योको दोस्रो तालसम्म पुगेको छ।
यसको सतहमा ठूला ढुंगा छन्। कतै थुम्का उठेका छन्, कतै खाल्डा छन्। तालतिर पुगेको अगाडिको भाग ठाडो छ।
बाहिरबाट हेर्दा देखिने यिनै ढुंगा र असमान सतहमुनि के छ भनेर अनुसन्धानकर्ताहरूले खोजेका हुन्।
उनीहरूले सन् २०२२ मेको सुरूतिर स्थलगत सर्वेक्षण गरेका थिए। अध्ययन अहिले प्रकाशित भए पनि जमिनमुनिको तथ्यांक चार वर्षअघि नै संकलन गरिएको हो।
त्यसका लागि प्रयोग गरिएको राडारले जमिनमुनि विद्युत–चुम्बकीय तरंग पठाउँछ। फरक पदार्थका तहबाट ती तरंगको केही भाग फर्किन्छ।
यसरी फर्किएको संकेत र त्यसले लिएको समय अध्ययन गरेर वैज्ञानिकहरूले जमिनमुनिको बनोट बुझ्ने प्रयास गर्छन्। तरंग कुन गतिमा गयो भन्नेले पनि त्यहाँ कस्तो पदार्थ हुन सक्छ भन्ने छुट्ट्याउन मद्दत गर्छ।
यो जमिनमुनिको सामान्य फोटो खिचेजस्तो भने होइन। राडारले दिएका संकेतको वैज्ञानिक व्याख्या गर्नुपर्छ। ढुंगा, चिस्यान र असमान सतहले संकेत बुझ्न कठिन बनाउन सक्छन्।
गोक्योमा अनुसन्धान गर्दा केही ठाउँमा भेटिएका संकेत र तरंगको गति हिमनदीको बरफसँग मेल खाए। यही आधारमा अनुसन्धानकर्ताहरूले ती ठाउँमा ठूला बरफका पिण्ड पुरिएको निष्कर्ष निकाले।
तल्लो भागमा पहिचान गरिएको पिण्ड करिब १५० मिटर लामो रहेको अनुमान छ। यसको माथि लगभग ३ देखि ९ मिटरसम्म ढुंगा लगायत पदार्थको तह छ।
यो पिण्डको सबभन्दा बाक्लो भाग करिब २८ मिटर छ। उक्त मोटाइमा करिब २ मिटर तलमाथि हुन सक्ने सम्भावना पनि औंल्याइएको छ।
अलि माथि अर्को पिण्ड छ। त्यो करिब २५० मिटर लम्बाइमा फैलिएको अनुमान छ। यसको अधिकतम मोटाइ साढे १७ मिटर छ। माथिबाट लगभग ३ देखि ६ मिटरसम्म ढुंगा लगायत पदार्थले छोपिएको छ।
दुवै पिण्डको चौडाइ करिब १५० मिटर हुन सक्ने अनुसन्धानकर्ताहरूको आकलन छ।
उनीहरूले पिण्डको लम्बाइ, चौडाइ र मोटाइका आधारमा आयतन अनुमान गरेका छन्। पानी बराबरको मात्रा निकाल्दा बरफभित्र हुन सक्ने हावाका फोका र थिग्रिएका पदार्थको पनि हिसाब गरिएको छ।
त्यसैले ५२ करोड ३० लाख लिटर पानी बराबरको बरफ भन्ने ठ्याक्कै निश्चित संख्या होइन।
अध्ययनमा दिइएको अनिश्चितता समेट्दा यी दुई पिण्डमा करिब ४४ करोड २० लाखदेखि ६१ करोड १० लाख लिटर पानी बराबरको बरफ हुन सक्छ।
यो पूरै रक ग्लेसियरमा रहेको सबै बरफको हिसाब पनि होइन। अप्ठ्यारो भूगोलका कारण अनुसन्धानकर्ताहरूले सबै ठाउँ समान रूपमा जाँच्न सकेनन्। सर्वेक्षण नगरिएका ठाउँमा थप ठूला पिण्ड हुन सक्छन्। ढुंगाका बीचका खाली ठाउँमा पनि बरफ जमेको हुन सक्छ।
त्यस्तो बरफ समेत जोड्दा कुल भण्डार अझ ठूलो हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
यो संरचनाको अर्को विशेषता पनि छ। यो बिस्तारै तलतिर सरिरहेको छ। ढुंगामुनिको बरफ र त्यससँग मिसिएका पदार्थ गुरूत्वाकर्षणका कारण सुस्त गतिमा सर्न सक्छन्। गोक्योमा यो गति बुझ्न अनुसन्धानकर्ताहरूले उपग्रहको सहारा लिए।
उनीहरूले सन् २०२१ देखि २०२४ सम्मका जुलाई र अगस्ट महिनामा सेन्टिनेल–१ उपग्रहले संकलन गरेका राडार तथ्यांक अध्ययन गरे। फरक समयमा लिइएका संकेत तुलना गरेर सतह कति सरेको छ भन्ने निकाले।
यसले रक ग्लेसियरको मध्यभागका केही ठाउँ अरूभन्दा बढी चलिरहेको देखायो। केही स्थानमा तलतिर सर्ने दर वर्षको एक मिटर बराबरसम्म थियो।
तर यसको अर्थ पूरै संरचना हरेक वर्ष एक मिटर सर्छ भन्ने होइन। ठाउँ अनुसार गति फरक छ।
यो गर्मीयामको तथ्यांकबाट निकालिएको वार्षिक दर हो। शोधपत्र अनुसार यस्तो दर वर्षभरिको औसत गतिभन्दा करिब २० प्रतिशत बढी हुन सक्छ।
यसरी जमिनमुनि बरफ खोज्ने र सतहको गति नाप्ने दुई विधि जोडेर वैज्ञानिकहरूले गोक्योको संरचना बुझ्ने प्रयास गरेका हुन्।
यो अध्ययनमा आठ अनुसन्धानकर्ता संलग्न छन् — म्याथ्यु डब्ल्यू पिसी, स्टेफन ह्यारिसन, ट्रिस्ट्रम डी एल अर्भिन–फिन, यान हु, करेन एन्डरसन, रूओलिन लेङ, झाङ्यु सुन र लिन लिउ।
अब प्रश्न उठ्छ — यस्तो बरफ भविष्यमा पानीको महत्त्वपूर्ण स्रोत बन्न सक्छ?
अनुसन्धानकर्ताहरू त्यसको सम्भावना देख्छन्।
ढुंगाको बाक्लो तहले केही अवस्थामा तलको बरफ पग्लिने गति कम गर्न सक्छ। त्यसैले खुला हिमनदी खुम्चिँदै जाँदा यस्ता संरचनाभित्रको बरफको महत्त्व बढ्न सक्छ।
तर गोक्योको अध्ययनले त्यो बरफ कति वर्ष टिक्छ वा हरेक वर्ष कति पानी दिन्छ भन्ने निकालेको छैन। त्यसका लागि बरफ पग्लिने र पानी बाहिर निस्कने दर छुट्टै मापन गर्नुपर्छ।
त्यस्तै, गोक्योमा भेटिएको मात्रा हिमालयका सबै रक ग्लेसियरमा हुन्छ भन्न मिल्दैन।
तिनको आकार, उचाइ, स्थान र चल्ने अवस्था फरक छन्। भित्रको बरफ पनि फरक हुन सक्छ। एउटा ठाउँको नतिजालाई हजारौं संरचनामा लागू गरेर कुल पानीको हिसाब निकाल्नु वैज्ञानिक रूपमा उचित नहुने लेखकहरूले स्पष्ट पारेका छन्।
गोक्योको खोजले थप ठाउँमा यस्तै स्थलगत अध्ययन किन आवश्यक छ भन्ने देखाएको छ।
किनभने, हिमालमा कति बरफ बाँकी छ र त्यसबाट भविष्यमा कति पानी उपलब्ध हुन सक्छ भन्ने बुझ्न हामीले देखिने सेतो भाग मात्र हेरेर पुग्दैन।
ढुंगामुनि लुकेको बरफ पनि खोज्नुपर्छ।
***