सन् १९८७ अक्टोबर ११।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विशेष विमान ओर्लियो।
नाम थियो — कनकर्ड।
एयर फ्रान्सको त्यो विमानमा ६३ जना यात्रु थिए। नेपाल टेलिभिजनको तत्कालीन रिपोर्ट अनुसार उनीहरूले पूरै भ्रमणका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर तिरेका थिए।
उनीहरूको यात्रा तत्कालीन पश्चिम जर्मनीबाट सुरू भएको थियो। विमान नेपालबाट भारतको नयाँदिल्ली र फ्रान्स हुँदै पश्चिम जर्मनी फर्किँदै थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को वार्षिकोत्सव प्रतिवेदनले अक्टोबर ११ को उक्त अवतरणलाई ऐतिहासिक घटनाका रूपमा उल्लेख गरेको छ। फ्रान्सेली दूतावासको एक रिपोर्टमा पनि पर्यटक बोकेको त्यो विमान विश्व भ्रमण क्रममा काठमाडौं आएको उल्लेख छ।
त्यस दिन काठमाडौं अवतरण गरेको उक्त विमान हेर्न मान्छेहरूको भीड लागेको थियो। किनभने, यो सामान्य यात्रुवाहक विमान थिएन।
यो विमान आवाजको गतिभन्दा झन्डै दोब्बर गतिमा उड्न सक्थ्यो। यसको उडान गति करिब २ हजार १६० किलोमिटर प्रतिघन्टा थियो। आवाजको गतिभन्दा छिटो उड्ने भएकाले नै यसलाई 'सुपरसोनिक' भनिएको हो।
त्यो गति कति हो भन्ने बुझ्न काठमाडौंबाट न्युयोर्कको दूरी सम्झौं।
त्रिभुवन विमानस्थल र न्युयोर्कको जोन एफ केनेडी विमानस्थलबीच पृथ्वीको सतह हुँदै नापिने सबभन्दा छोटो दूरी करिब १२ हजार १४० किलोमिटर छ। यो पूरै दूरी कनकर्डको उक्त गतिमा उड्न मिल्ने भए करिब ५ घन्टा ४० मिनेटमै पार हुन्थ्यो।
तर वास्तविक यात्रा त्यति नै समयमा पक्कै सम्भव थिएन। कनकर्डले एकपटक इन्धन भरेर करिब ६ हजार ७०० किलोमिटर उडान भर्न सक्थ्यो। त्यसैले बीचमा इन्धन भर्नुपर्थ्यो। जमिनमाथि सुपरसोनिक उडानका सीमा, वास्तविक उडान मार्ग र उक्लने–ओर्लने समयमा गति घटाउनुपर्ने अवस्थाले पनि यात्रा अवधि लामो पर्थ्यो।
यसरी कुनै बेला काठमाडौं पनि ओर्लिएको यो विमान अहिले आकाशमा देखिँदैन।
आजभन्दा ठ्याक्कै २३ वर्षअघि कनकर्डले आफ्नो अन्तिम व्यावसायिक उडान गरेको थियो।
सन् २००३ अक्टोबर २४ — त्यस दिन न्युयोर्कको जोन एफ केनेडी विमानस्थलबाट लन्डनको हिथ्रो विमानस्थलसम्मको यात्रा नै कनकर्डको अन्तिम व्यावसायिक उडान थियो।
ब्रिटिस एयरवेजले सञ्चालन गरेको बीए–००२ उडानसँगै नागरिक उड्डयन क्षेत्रबाट कनकर्ड सधैंका लागि बिदा भयो।
कनकर्डको कथा एउटा विमानको अवकाशको कथा मात्र होइन। यो मानिसले हवाई यात्राको समय घटाउन गरेको असाधारण प्रयास र त्यसलाई व्यावसायिक रूपमा टिकाइराख्न भोगेका कठिनाइको कथा पनि हो।
आखिर यति छिटो उड्ने विमान किन यति छिट्टै बन्द भयो?
त्यसको जबाफ खोज्नुअघि कनकर्ड कस्तो विमान थियो भन्ने बुझौं।
बेलायत र फ्रान्सको संयुक्त प्रयासबाट बनेको कनकर्डले सन् १९६९ मार्च २ मा पहिलो परीक्षण उडान गरेको थियो। त्यसपछि वर्षौंसम्म परीक्षण र विकासका काम भए।
सन् १९७६ जनवरी २१ मा ब्रिटिस एयरवेज र एयर फ्रान्सले यसको व्यावसायिक सेवा सुरू गरे। ब्रिटिस एयरवेजको पहिलो सेवा लन्डनबाट बहराइनका लागि थियो। एयर फ्रान्सले पेरिसबाट रियो दि जेनेरियोतर्फ सेवा सुरू गर्यो।
परीक्षणमा आवाजभन्दा छिटो उड्नु एउटा उपलब्धि थियो भने यात्रु बोकेर नियमित तालिका अनुसार त्यही गतिमा उड्नु ठूलो चुनौती।
कनकर्डले त्यो चुनौती पार गर्यो।

कनकर्डलाई लन्डनबाट न्युयोर्क पुग्न सामान्यतया साढे तीन घन्टाभन्दा केही कम समय लाग्थ्यो। ब्रिटिस एयरवेजका अनुसार अन्य विमानलाई यही यात्रा पार गर्न करिब आठ घन्टा चाहिन्थ्यो।
अर्थात् कनकर्डले यात्राको समय आधाभन्दा बढी घटाइदिएको थियो।
यो विमान करिब ६० हजार फिट उचाइसम्म उड्न सक्थ्यो। सामान्य यात्रुवाहक जेट विमान प्रायः ३० हजारदेखि ४० हजार फिटको उचाइमा उड्छन्।
कनकर्ड यस्तो द्रुत सेवा दिने एक्लो विमान भने थिएन। सोभियत संघको टुपोलेभ टीयू–१४४ पनि व्यावसायिक सेवामा आएको थियो। त्यसैले कनकर्डलाई इतिहासकै एक मात्र सुपरसोनिक यात्रुवाहक विमान भन्न मिल्दैन। तर यसको विशेषता लामो समयसम्म नियमित सेवा सञ्चालन गर्न सक्नु थियो।
कनकर्डको उच्च गतिले विमान बनाउने इन्जिनियरहरूलाई फरक चुनौती दिएको थियो।
त्यसको एउटा उदाहरण हो — उडान क्रममा विमानको लम्बाइ बढ्नु।
ब्रिटिस एयरवेजका अनुसार करिब ६२ मिटर लामो कनकर्डको बाहिरी संरचना तात्दा त्यसको लम्बाइ ६ देखि १० इन्चसम्म बढ्थ्यो। अर्थात् करिब १५ देखि २५ सेन्टिमिटर।
विमान तात्ने र फैलिने अवस्थालाई ध्यानमा राखेर नै यसको डिजाइन गरिएको थियो। ताप व्यवस्थापनका लागि विशेष रूपमा विकसित सेतो रङ पनि प्रयोग गरिएको थियो।
कनकर्डमा चारवटा इन्जिन र ब्रिटिस एयरवेजको व्यवस्था अनुसार सय यात्रुका लागि सिट थिए।
उच्च गतिसँग जोडिएको अर्को समस्या भने विमानभित्रका यात्रुभन्दा जमिनमा बस्ने मानिससँग सम्बन्धित थियो।
त्यो थियो — सोनिक बुम।
विमान आवाजभन्दा छिटो उड्दा उत्पन्न हुने चापका तरंग जमिनसम्म आइपुग्दा विस्फोटजस्तो ठूलो आवाज सुनिन सक्छ। यसैलाई सोनिक बुम भनिन्छ। यो इन्जिनबाट निस्कने सामान्य आवाजभन्दा फरक हो।
यही कारण कनकर्डले जहाँसुकै आफ्नो अधिकतम गतिमा उड्न पाउँदैनथ्यो। यसको सुपरसोनिक उडान मुख्यतः समुद्रमाथि सीमित थियो। बस्ती भएका भूभागमाथिको आवाजले उडान मार्ग विस्तारमा बाधा पुर्याउँथ्यो।
यसले एउटा व्यावहारिक समस्या सिर्जना गर्यो। विमान छिटो उड्न सक्थ्यो, तर त्यसको गति सबै मार्गमा समान रूपमा उपयोग गर्न सकिँदैनथ्यो।
समुद्र पार गर्ने लामो यात्रामा यसको फाइदा धेरै देखिन्थ्यो। जमिनमाथि लामो दूरी उड्दा भने त्यही सुविधा उपलब्ध थिएन।
त्यसपछि कनकर्डको इतिहासमा ठूलो दुर्घटना आयो।
सन् २००० जुलाई २५ मा एयर फ्रान्सको कनकर्ड पेरिसको शार्ल द गोल विमानस्थलबाट उडेको केही समयमै नजिकै गोनेस क्षेत्रमा दुर्घटनाग्रस्त भयो।
विमानमा रहेका सय जना यात्रु र चालकदलका ९ जना सदस्यसहित जमिनमा रहेका ४ जनाको समेत मृत्यु भयो। कुल ११३ जनाले ज्यान गुमाए।
दुर्घटनाको घटनाक्रम धावनमार्गमा रहेको धातुको एउटा टुक्राबाट सुरू भएको थियो। त्यो केही मिनेटअघि उडेको अर्को विमानबाट खसेको थियो।
अनुसन्धान अनुसार कनकर्डको टायर त्यसमा पर्दा फुट्यो। टायरको टुक्राले पखेटामुनि प्रहार गरेपछि उत्पन्न जटिल असरले इन्धन ट्यांकी क्षतिग्रस्त भयो। चुहिएको इन्धनमा आगो लाग्यो र विमानका इन्जिनको शक्ति घट्यो।
त्यसपछि विमान खस्यो।
दुर्घटनापछि कनकर्डका उडान रोकिए। सुरक्षा सुधार र परीक्षणपछि सन् २००१ नोभेम्बर ७ मा ब्रिटिस एयरवेज र एयर फ्रान्सले व्यावसायिक सेवा पुनः सुरू गरे।
तर फर्किएको कनकर्डका लागि बजार पहिलेको जस्तो थिएन।
त्यसै वर्ष सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि हवाई यात्राको बजारमा ठूलो असर परेको थियो। कनकर्ड फेरि उड्न थाले पनि त्यसलाई सञ्चालन गरिराख्ने आर्थिक आधार कमजोर हुँदै गयो।
ब्रिटिस एयरवेजले सन् २००३ अप्रिल १० मा सेवा बन्द गर्ने घोषणा गर्दा घट्दो यात्रु आम्दानी र बढ्दो मर्मत खर्चलाई मुख्य कारण बताएको थियो।
कम्पनीका अनुसार विमानलाई आगामी वर्षहरूमा सञ्चालन गरिराख्न थप मर्मत कार्यक्रम आवश्यक थियो। तर महँगो हवाई यात्राको माग घटिरहेका बेला त्यसमा थप लगानी गर्न उचित देखिएन।
एयरबसका तत्कालीन प्रमुखले पनि विमान पुरानो हुँदै जाँदा आवश्यक मर्मतको मात्रा तीव्र रूपमा बढिरहेको बताएका थिए।
समस्या विमान उड्न सक्छ कि सक्दैन भन्ने मात्रै थिएन। उडान खर्च धान्ने गरी यात्रुबाट आम्दानी हुन्छ कि हुँदैन भन्ने पनि थियो।
अन्ततः अक्टोबर २४ मा कनकर्डको नियमित व्यावसायिक यात्रा टुंगियो।
तर त्यसै दिनदेखि कुनै पनि कनकर्ड आकाशमा उडेन भन्ने होइन।
कनकर्डको सबभन्दा अन्तिम उडान सन् २००३ नोभेम्बर २६ मा भयो। जी–बीओएएफ दर्ता नम्बरको विमान हिथ्रोबाट उडेर बेलायतकै फिल्टनमा अवतरण गर्यो। त्यो नियमित टिकट बिक्री हुने व्यावसायिक सेवा थिएन। यही विमान अहिले एरोस्पेस ब्रिस्टल संग्रहालयमा संरक्षित छ।
कनकर्ड बन्द भए पनि आवाजभन्दा छिटो यात्राको खोज रोकिएको छैन।
नासाको एक्स–५९ अनुसन्धानले सुपरसोनिक उडानको ठूलो आवाज कम गर्ने र त्यस्तो आवाजप्रति मानिसको प्रतिक्रिया बुझ्ने काम गरिरहेको छ।
यसबाट भविष्यका यात्रुवाहक विमान र उडानसम्बन्धी मापदण्डका लागि जानकारी जुटाउने लक्ष्य राखिएको छ।
***