रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।
चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पुर्याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार राति अन्दाजी ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी आएको थियो।
'मितेरी पुलमा क्षति भएको भन्ने कुरा छ। सबै बगाएको हो कि सामान्य क्षति हो त्यसको अपडेट हुन बाँकी छ,' सहायक सिडिओ अधिकारीले भने।
उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको भन्सार यार्डका केही गाडीहरू पनि बगाएको छ।
भन्सार कार्यालयका महानिर्देशक महेश भट्टराईल भन्सारको सम्पूर्ण याडदेखि त्यहाँ भएका मालवस्तु र त्यहाँ भएका ढुवानीका साधनहरू अधिकांश बगाएको बताएका छन्।
'कर्मचारी सुरक्षित छन् । आइसिपीको अधिकांश संरचना बगाएको छ क्षति कति भयो भन्ने यकिन हुन सकेको छैन गाडी निकाल्ने क्रममा केही मानिसहरू हताहत भएको बुझिएको छ,' उनले भने।
सहायक सिडिओ अधिकारीले मानवीय क्षतिबारे बुझ्न बाँकी रहेको बताए।
'टिमुरे भन्सारमा दुईतिरबाट नदी बगेर मान्छे फसेको भन्ने छ,' उनले भने।
मैलुङ र बेत्रावतीका जोखिमयुक्त बस्तीबाट मानिसहरूलाई स्थानान्तरण गरिएको पनि उनले बताए।
'एड्भाइजरी पनि जारी भएका छन्। गृहसँग र नेपाली सेनासँग। हेलिकप्टर स्ट्याण्डबाइ छ। मौसमका कारण उडान हुन सकेको छैन,' उनले भने।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएको बताएका छन्।
प्राधिकरणले नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आग्रह गरेको छ।