लगातार ९ दिन सार्वजनिक बिदापछि आज सोमबारबाट सरकारी कार्यालय, बैंक तथा अन्य सार्वजनिक सरोकारका कार्यालयहरू खुलेका छन्।
तर बिदाको चक्र सकिएको छैन।
आजबाट पाँच दिन सरकारी कार्यालय र बैंकहरू खुलेपछि दुई दिन बिदा हुन्छ। फेरि पाँच दिन कार्यालय खुलेपछि ६ दिन बिदा हुन्छ।
त्यसपछि एक दिन कार्यालय खुल्छ, दुई दिन बिदा हुन्छ। अनि एक दिन कार्यालय खुलेपछि कात्तिक महिना नै सकिन्छ।
अर्थात्, ३० दिनको कात्तिक महिनामा १२ दिन मात्रै कार्यालय खुल्छन्। १८ दिन कार्यालय बन्द रहने छन्।
दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक जुध्दा कार्यालय तथा सार्वजनिक सेवा प्रवाह यसरी प्रभावित भएको हो।
२०८१ मा दसैंअघि लगातार सार्वजनिक बिदा ५ दिन परेको थियो भने २०८२ मा यस्तो अवधि ६ दिन पुगेको थियो। यसपटक लगातार ९ दिन बिदा परेको हो। यस अवधिमा चार दिन साप्ताहिक बिदा र पाँच दिन पर्व बिदा परेका छन्।
प्रधान बालेन शाह नेतृत्वको सरकार आएको १० दिनपछि, २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि वर्षभरि कार्यालय खुल्ने दिन घटेका छन्। त्यति बेला पेट्रोल खपत घटाउन दुई दिन बिदा गरिएको भए पनि सरकारले यसलाई पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट गरेको छ।
यस अनुसार अघिल्लो वर्षको तुलनामा एक वर्षमा करिब ४० दिन बिदा थपिएको हिसाब देखिन्छ। नयाँ साप्ताहिक बिदा लागू गर्दा पर्व तथा दिवसका बिदा कटौती नगरिएकाले बिदा एकैठाउँ खप्टिने र कार्यालय खुल्ने दिन कम हुने अवस्था बनेको छ।
कात्तिक महिनामा मात्रै २९ दिनमध्ये १२ दिन कार्यालय खुल्दा काममा निकै प्रभाव परेको व्यवसायीहरू बताउँछन्।
दसैं, तिहार लगायत पर्वका बिदा र शनिबार–आइतबारको नियमित बिदा जोडिँदा कार्यालय तथा बैंकिङ सेवा सीमित हुने अवस्था आएको हो। सरकारी कार्यालय र बैंक नखुल्दा निजी क्षेत्रको दैनिक कारोबार समेत प्रभावित भएको उद्योगीहरूको भनाइ छ।
उद्योगी पशुपति मुरारका अत्यधिक बिदाले काम गर्न अप्ठ्यारो भएको बताउँछन्।
निजी उद्योगमा उत्पादन जारी रहे पनि सरकारी कार्यालय, बैंक तथा बजारसँग जोडिएका सेवा बन्द हुँदा सामान बिक्री गर्न र भुक्तानी उठाउन समस्या हुने गरेको उनले बताए।
'यो महिना कात्तिकमा जम्मा १२ दिन मात्रै कार्यालय खुल्ने अवस्था छ। यस्तो हुँदा काम गर्न निकै अप्ठ्यारो परेको छ,' मुरारकाले सेतोपाटीसँग भने।
उनले आइतबारको बिदा आवश्यकताका आधारमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए।
'२०७८ सालमा बढाइएका बिदा कटौती नगरिँदा उत्पादकत्वमा असर परेको छ,' उनले भने, 'लामो बिदाको बेला त अगाडि र पछाडिको समयमा पनि काम प्रभावित हुन्छ।'
उद्योगी मुरारका बैंक तथा सरकारी कार्यालय बन्द हुँदा निजी क्षेत्रले काम गर्न खोजे पनि समग्र व्यापारिक चक्र प्रभावित भएको बताउँछन्।
बिदाको दिन प्राप्त भएको रकम चल्ती खातामा थन्किने तर बैंक बन्द हुँदा कर्जा खातामा भुक्तानी गर्न नपाइने अवस्था आउने उनको भनाइ छ। यसले उद्योगीलाई ब्याजको भारसमेत थप्ने गरेको उनले बताए।
'हाम्रो कारखानामा उत्पादन भइरहन्छ, तर बजार, बैंक र सरकारी निकाय बन्द हुँदा बिक्री घट्छ र भुक्तानी उठाउन सकिँदैन। निजी क्षेत्रले काम गर्न खोजे पनि बैंक र सरकारी निकाय बन्द हुँदा सम्पूर्ण व्यापारिक चक्र नै प्रभावित हुन्छ,' मुरारकाले भने।
अन्तर्राष्ट्रिय रूपमा आइतबार बिदा हुने अभ्यासलाई नेपालमा पनि अपनाउने हो भने शनिबार कार्यालय खोल्ने विकल्पमा विचार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ।
धेरै बिदाले काम गर्ने मानसिकतामा समेत असर गर्ने उल्लेख गर्दै उनले भने, 'हिजो हामीले अफिस खोले पनि बैंक र सरकारी कार्यालयहरू बन्द भएकाले काम गर्ने मुड नै बनेन।'
२०८३ सालको बिदा गणनामा शनिबार र आइतबार गरी १०४ दिन साप्ताहिक बिदा पर्छन्। अघिल्लो वर्ष शनिबार मात्रै साप्ताहिक बिदा थियो। यस वर्ष थपिएका ५२ आइतबारमध्ये सात दिन पर्व वा दिवसका सार्वजनिक बिदासँग जुधेका छन्।
त्यस्तै, अघिल्लो वर्ष शनिबार परेका पर्व बिदा चार दिन थिए भने यस वर्ष पाँच दिन परेका छन्। वैशाखमा पनि एक दिनको पर्व बिदा साप्ताहिक बिदासँग जुधेको छ।
सरकारले २०८२ फागुन १८ मा २०८३ सालको सार्वजनिक बिदासम्बन्धी राजपत्र प्रकाशित गरेको थियो। त्यसपछि बालेन नेतृत्वको सरकार आएपछि आइतबारको साप्ताहिक बिदा लागू गरिएको हो।
त्यस्तै, भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि पछि गरिएको थियो।
२०७९ को निर्वाचनअघि केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वका सरकारका पालामा विभिन्न पर्व तथा दिवसका बिदा थपिएका थिए। त्यस समयमा नै आठ दिन सार्वजनिक बिदा थपिएका थिए।
त्यति बेला थपिएका बिदाको निजी क्षेत्रले विरोध गरे पनि पुनरवलोकन गरिएन। अहिले एक दिन दिवसका अवसरमा र सातामा थप एक दिन साप्ताहिक बिदा थपिएको हो।
शनिबार र आइतबार जुधेका पर्व विदा कटौती र अहिले थपिएको भदौ २३ को विदा समेत गणना गर्दा ४० दिन सार्वजनिक विदा थपिएको छ।
गत साउनमा शनिबार र आइतबार साप्ताहिक बिदा कायम राख्दै अन्य सार्वजनिक बिदा पुनरवलोकन गर्ने विषय सचिवस्तरीय बैठकमा छलफल भएको थियो। तर हालसम्म सार्वजनिक बिदा कटौती गर्ने वा सूची संशोधन गर्ने निर्णय भएको छैन।
उद्योगीहरूको मुख्य चासो सार्वजनिक बिदा कति दिन छ भन्नेमा मात्रै नभई त्यसले सरकारी सेवा, बैंकिङ कारोबार, उत्पादन, बिक्री र भुक्तानीमा पार्ने प्रभावमा छ।
सार्वजनिक बिदाको सूची पुनरवलोकन गर्दा कर्मचारीको विश्राम र सांस्कृतिक पर्वको महत्त्वसँगै अर्थतन्त्रमा काम हुने दिन तथा सेवा निरन्तरताको आवश्यकतालाई पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
*यसअघि कात्तिक महिनामा २९ दिन भन्ने पर्न गएकामा सच्याइएको छ।