रसुवा भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेलले बाढीले रसुवागढी भन्सार कार्यालयमा ठूलो क्षति पुगेको बताएका छन्।
चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय दस वर्ष अगाडिको अवस्थामा पुगेको उनले बताए।
'बाढीका कारण गाडीहरू र अन्य सामानहरू बगाएको छ। धेरै गाडीहरूलाई सुरक्षित ठाउँमा सार्ने प्रयास गर्दागर्दै पनि बगायो,' उनले भने।
उनका अनुसार भारी वर्षाको सूचना चीन तर्फबाट आएको थियो।
'भारी वर्षाले अकास्मात् त्यति ठूलो बाढी त नआउनु पर्ने हो। माथितिर पनि पुलमा क्षति पुगेको भन्ने जानकारी आइरहेको थियो। बन्दरगाह बगरनजिकै बनाइएको छ। ह्यान्डओभर भएको थिएन। सामानहरू हेर्ने गाडीहरू राख्ने गरिरहेका थियौं। बाढी नै आउने भन्ने जानकारी पाएपछि गाडीका साथीहरू त्यसलाई सुरक्षित गर्नतिर लाग्दा कतिले भ्याए कतिले प्रयास गर्दा गर्दै माथिबाट खोला छिरेर गाडी पनि लग्यो,' उनले भने।
मितेरी पुलमा काम गरिरहेका कामदारहरू पनि फसेको उनले बताए। बाढीको खबर त्यहीँको कन्स्ट्रक्सन कम्पनीले भन्सार कार्यालयलाई पनि दिएको थियो।
त्यसपछि भन्सार यार्डमा रहेका गाडीहरू सुरक्षित गर्ने कोसिस गर्दा गर्दै बगाएको उनले बताए।
'जाँच पास भएका हुन बाँकी गाडीहरू र बन्दै गरेको ड्राइपोर्ट पूर्ण रूपमा क्षति भएर त्यहाँ भएका सामान सबै बगाएको छ। भन्सार कार्यालय दस वर्ष अगाडिको अवस्थामा पुगेको छ,' उनले भने।