काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।
महानगरले यो नयाँ नियम ल्याएको भने होइन।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ लाई महानगरले कार्यान्वयन मात्र गर्न लागेको सहप्रवक्ता ध्रुव काफ्लेले सेतोपाटीलाई बताए।
'ऐनमा नै सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा प्रयोग गर्न हुँदैन भनेर उल्लेख छ,' उनले भने, 'सोही ऐन महानगरले कार्यानवयन मात्र गर्न लागेको हो। सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरिरहेका हौं।'
उनले सुर्तीजन्य पदार्थ सेवन गर्नेले नियम पालना गर्नुपर्ने बताए।
'सबै कुरा प्रयोग गर्दा विधि पालना गर्नुपर्ने हुन्छ। अहिले हामीले विधि मात्र अपनाउन खोजेका हौं,' उनले भने, 'हामीले खान पाइँदैन भनेका छैनौं तर तोकिएको ठाउँमा मात्र खानुस्। सार्वजनिक स्थानमा नखानू भनेका हौं। सुरूमा सम्झाउने बुझाउने गरिरहेका छौं।'
विदेशमा सार्वजनिक स्थानहरूमा 'स्मोकिङ रूम' हुने गरे पनि नेपालमा भने विमानस्थलमा मात्रै छ। उनले तत्काल महानगरले 'स्मोकिङ रूम' वा जोनको व्यवस्था भने नगर्ने बताए।
उनले आउँदो भदौदेखि सार्वजनिक स्थानमा ध्रुम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गरेको भेटिए प्रत्येक पटक पाँच सय रूपैयाँका दरले जरिवाना तिर्नुपर्ने बताए।
हेर्नुहोस् भिडिओः