बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बढीको जोखिम रहेको जनाएको छ।
महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो।
महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा बहाव बढ्न सुरू हुनेछ।
शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला हुँदै बहने स-साना नदीनालामा आकस्मिक बाढीको जोखिम छ।
त्यस्तै, आइतबार बिहानदेखि बेलुकीसम्म नारायणी, काली गण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदी तथा तिनका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ।
आइतबार रातिदेखि पानी पार्ने प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्छ।
यसबाट उल्लिखित स्थानहरूमा बाढी र डुबान हुन सक्ने महाशाखाले जनाएको छ। पहिरो जान सक्ने क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।