पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, नवलपरासीका अनुसार शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी मोटरसाइकल पछाडि बस्ने सर्लाहीको लालबन्दी–४ की ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो।
मोटरसाइकल अनिताका ३४ वर्षीय श्रीमान नरेशले चलाएका थिए भने साथमा उनीहरूका १० वर्षीय छोरा पनि थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालका अनुसार बाबुछोरा दुवै गम्भीर घाइते छन्।
घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ।