नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।
बिहीबार राति देउसी भैलो खेल्दै दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
घाइते सन्त बहादुरलाई उपचारका लागि स्थानीय लुम्बिनी मेडिकल सर्दि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताए।
पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरूङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन्। मृतकको शवलाई पोस्टमर्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।