सुर्खेतमा सँगै मेला हेर्न जाँदै गर्दा जंगल र खोला किनारको बीच भागमा भतिजाले काकाको हत्या गरेको खुलेको छ।
चौकुने गाउँपालिका – ७ गुटुका २१ वर्षीय भुवन धमला कात्तिक ३ गतेदेखि बेपत्ता थिए। त्यो दिन भुवन र उनका भतिजा २० वर्षीय हेमन्त भनिने हिराप्रसाद धमला घरदेखि सँगै चौकुने–१० को घाटगाउँमा लाग्ने भुवा मेला हेर्न भनेर गएका थिए। तर, त्यो दिन उनीहरू दुवै जना फर्किएनन्।
कात्तिक ४ गते हेमन्त मात्रै बाबिया चौरको मेडिकलमा उपचारका लागि पुग्छन्। उपचार गराएपछि सोही दिन उनी घर पुग्छन्। उनको निधारमा चोट पटक लागेको हुन्छ।
घर परिवारले सोधपुछ गर्दा हेमन्तले काका भुवन मेलामा कुनै केटीसँग लागेको र त्यसपछि आफूलाई थाहा नभएको भनेर ढाँट्छन्। तर, उनको साथमा मेला जाँदा लगाएको ज्याकेट पनि हुँदैन र निधारमा केही घाउ खत पनि देखिन्छ।
घर परिवारका सदस्यले इलाका प्रहरी कार्यालय बाबियाचौरमा पुगेर भुवन घर नफर्किएको हुँदा खोज तलास गरिदिन भनेर निवेदन दिन्छन्।
निवेदनका आधारमा इप्रका बाबियाचौर र आफन्त खोज तलासमा लाग्छन्। खोजी गर्ने क्रममा कात्तिक ७ गते बिहान ११ बजेपछि चौकुने–१० तामाधारा खोलाको ताताथाई भन्ने स्थानमा शरीरको विभिन्न भागमा घाउ खत लागेको अवस्थामा भुवनको शव फेला पर्छ।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार सोही तामाधारा खोलाको ताताथाई क्षेत्रमा हेमन्तले लगाउने ज्याकेट फेला पर्छ। त्यो ज्याकेटमा रगतका खतहरू देखा परेपछि प्रहरीले हेमन्तलाई घटना अनुसन्धानका लागि नियन्त्रणमा लिन्छ।
सोधपुछका क्रममा भतिजा हेमन्तले नै काका भुवनको ढुंगा प्रहार गरी हत्या गरेको साबिती बयान दिएको डिएसपी बुढथापाले बताए।
प्रहरी अनुसन्धानबाट हेमन्तले ढुंगा प्रहार गरी काका भुवनको हत्या गरी शव नदेखिने गरी लुकाएका थिए। खोजी गर्ने क्रममा सुरूमा माथि खुट्टा मात्रै देखिएको थियो।
काका भुवनको हत्यापछि हेमन्त कात्तिक ३ गते रात सोही खोला किनारको जंगलमै बिताएको प्रहरी समक्ष उनले बयान गरेका छन्।
दोस्रो दिन निधारमा लागेको घाउमा कपडा बाँधेर उनी बाबिया चौरको एक मेडिकलमा उपचारका लागि पुगेका थिए। त्यसपछि उनी घरमै बस्दै आएका थिए।
डिएसपी बुढथापाका अनुसार मेलामा जाँदा भतिजा हेमन्त मदिराले मातेका थिए। मातेका हेमन्तले काकासँग अनावश्यक रूपमा झगडा सुरू गरेका थिए। त्यही क्रममा उनीहरूका बीचमा खोला किनारमा आपसमा विवाद हुनुका साथै कुटाकुट भएको भन्ने बयान हेमन्तले प्रहरी समक्ष गरेका छन्।
‘काकाले नै पहिले मलाई हिर्काएको हुँदा मैले रिस सम्हाल्न सकिनँ र मैले पनि कुटपिट गर्दै ढुंगाले हिर्काएको थिएँ,’ हेमन्तको भनाइ उद्धत गर्दै डिएसपी बुढथापाले भने, ‘सोही क्रममा काका ख्याल ख्यालमै काकाको मृत्यु हुन पुगेको मैले पत्तै पाइनँ।’
काकाको हत्यामा भतिजा हेमन्तको संलग्नता खुलेपछि घर परिवारले हेमन्तका विरूद्ध किटानी जाहेरी दिएका छन्।
हेमन्त विरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने गरी थप अनुसन्धान जारी रहेको डिएसपी बुढथापाले बताए।