इलाम प्रशासनले बुधबार रातभरीका लागि मेची राजमार्ग बन्द गरेको छ।
यसपटकको मनसुनी विपद्को ‘इपिसेन्टर’ बनेको इलाममा मोन्था चक्रवातले निम्त्याउन सक्ने सम्भावित क्षति रोक्न राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।
बंगालको खाडीमा विकसित 'मोन्था चक्रवात' का प्रभावका कारण राजमार्ग बन्द गर्ने सूचना प्रशासनले जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय इलामले बुधबार राति ७ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म मेची राजमार्गमा सवारी सञ्चालन नगर्न आग्रह गर्दै सूचना जारी गरेको हो।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी प्रदेशका अधिकांश क्षेत्रमा चक्रवातको प्रत्यक्ष प्रभाव पर्ने अनुमान छ।
प्रशासनले असोज १८ गतेको भीषण वर्षाबाट पहिरो तथा सडक धस्सिएको मेची राजमार्गका धेरै खण्ड अझै जोखिमयुक्त रहेको उल्लेख गरेको छ।
त्यसैले ‘अत्यधिक वर्षा र चक्रवातको प्रभावका कारण यात्रु तथा सवारी साधन दुर्घटनाको जोखिम उच्च रहेको’ भन्दै रातको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने, सडक चिप्लिने र आवागमनमा समस्या देखिएको हुँदा जनसुरक्षाको प्राथमिकता दिँदै अस्थायी रूपमा रोक लगाइएको हो।
उनका अनुसार रातको समयमा आवश्यक नभए सवारी साधन सञ्चालन नगर्न र यात्रुहरूलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ।
प्रशासनले स्थानीय निकाय, सुरक्षाकर्मी र सडक विभागलाई सतर्क रहन निर्देशन दिएको छ।
प्रशासनले उक्त रोक अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने स्पष्ट पारेको छ।
इलामसहित पूर्वी पहाडी क्षेत्रमा चक्रवातको प्रभावले हल्कादेखि भारी वर्षा हुनसक्ने र पहिरोको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।