काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा गहना लुट्ने गिरोह नै पक्राउ परेका छन्।
उपत्यकाको विभिन्न ठाउँमा मोटरसाइकलको प्रयोग गरी लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
असोजको पहिलो सातादेखि गहना लुटिएको उजुरी पर्न थालेको थियो।
यसरी लुटपाटका घटना हुनथालेपछि प्रहरीले अपरेसन चलाएको थियो। त्यसरी गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
यसरी पक्राउ पर्नेमा लुटपाट गर्नेदेखि लुटिएका गरगहना किन्ने सम्मका व्यक्तिहरू छन्।
मोटरसाइकल चलाउने सिन्धुलीका घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा, मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने उदयपुरका २० वर्षीय विशाल भन्ने दुर्गाबहादुर मगर पक्राउ परेका हुन्।
त्यस्तै लुटिएको गहना बेच्ने रामेछापका घर भई भक्तपुरका सुन चाँदी पसल सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक र लुटिएको गहना किन्ने बागलुङका घर भई बुढानिलकण्ठ बस्ने सुन पसल चलाउने ४० वर्षीय गोबिन्द सुनारलाई पक्राउ गरेको हो। त्यस्तै, अर्का किन्ने व्यक्ति कैलाली घर भई काठमाडौं महानगरपालिका-२२ बस्ने २२ वर्षीय देस रसाइली पक्राउ परेको एसपी भट्टराईले जानकारी दिए।
उनीहरूको साथबाट गहना र नगदहरू फेला परेका छन्।
काठमाडौं जिल्ला अदालत काठमाडौंबाट 'चोरी सम्बन्धी कसूर' मुद्दामा ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।