नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल छन्।
उनी शरणार्थी प्रकरणमा संलग्नहरूमध्ये महत्वपूर्ण व्यक्ति रहेको सिआइबीका प्रमुख एआइजी मनोज केसीले जानकारी दिए।
सुरूवाती अनुसन्धानमा निराजनको नाम खुलेको भएपनि उनी को हुन् भन्ने पत्ता लागेको थिएन।
‘कोर टिममै बसेर ठगी गर्ने व्यक्ति हुन्। सुरूमा उनको नाममात्रै थियो। पहिचान हुन नसकेपछि पक्राउ परेका थिएनन। तर अहिले पहिचान पनि खुलेसँगै पक्राउ गरेका छौं,’ एआइजी केसीले भने।
शुक्रबार पक्राउ गरी उनीमाथि प्रहरीले ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।
उनले भुटानी शरणार्थी भएर जान खोजेका पीडितहरूबाट संकलन भएको नगद तथा चेकमार्फत रकम जम्मा गर्थे। ती रकमलाई ओसारपसार गर्ने र नक्कली कागजात किर्ते समेत गरेको आरोप उनीमाथि छ। पीडितबाट असुली भएको रकम लिने र प्रमुख गिरोहसँग मिलेमतो समेत गरेको प्रहरीको भनाइ छ।