बीबीसीले एक वृत्तचित्रमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेको आरोप लागेपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखले राजीनामा दिएका छन्।
गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनअघि प्रसारण भएको बीबीसीको 'प्यानोरमा' कार्यक्रममा ट्रम्पले सन् २०२१ जनवरीमा निर्वाचन परिणाम उल्टाउने प्रयासका क्रममा गरेको भाषणलाई पूर्वाग्रहपूर्ण सम्पादन गरेको आरोप लागेको थियो।
पूर्वाग्रहपूर्ण सम्पादनबारे चर्चा गरेको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले भर्खरै प्रकाशित गरेपछि सो कुरा सार्वजनिक भएको थियो।
सो परिपत्रमा प्यानोरमा कार्यक्रमले 'तत्कालीन राष्ट्रपति ट्रम्पको भाषणका दुई भागमा भएको सम्पादनले उनले जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगा गर्न उक्साएको जस्तो देखाएको' उल्लेख छ।
'हामी क्यापिटलतिर (अमेरिकी संसद) जानेछौं अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र वुमनहरूको उत्साह बढाउने छौं,' ट्रम्पले २०२१, जनवरी ६ को भाषणमा भनेका थिए, 'तपाईंहरूको आवाज शान्तिपूर्ण र देशभक्तिपूर्ण रूपले सुनिने बनाउन म पनि सँगै जानेछु।'
सोही भाषणमा त्यसको लगभग ५० मिनेटपछि ट्रम्पले 'अनि हामीहरू पूरै तागत लगाएर लड्नेछौं' पनि भनेका थिए।
तर मतदानको आठ दिन अघि प्यानोरमाले ट्रम्पको भाषण सम्पादन गरेर उनले 'हामी क्यापिटलतिर जानेछौँ.... अनि त्यहाँ म तपाईंहरूसँगै हुनेछु। अनि हामीहरू पूरै तागत लगाएर लड्नेछौं,' भनेर देखाएको थियो।
त्यस्तो पूर्वाग्रहपूर्ण सम्पादनबारे बीबीसीकै एक आन्तरिक परिपत्रले चर्चा गरेको सार्वजनिक भएपछि ह्वाइट हाउसले बीबीसीलाई 'शत प्रतिशत फेक न्यूज' को संज्ञा दियो।
त्यसपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका हुन्।
त्यसरी पूर्वाग्रहपूर्ण सम्पादन गरिएकोबारे बीबीसीका महानिर्देशक समिर शाहले चाँडै औपचारिक रूपमा माफी माग्ने भनेर विभिन्न बेलायती मिडियाले लेखेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)