ललितपुरको जावलाखेलमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–७ निवासी हाल ठैव बस्दै आएका ३० वर्षीय गंगे बहादुर तामाङ हुन्।
प्रहरीका अनुसार गत असोज ५ गते राति करिब १२ बजे ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित चिडियाखानाको पश्चिमपट्टि रहेको मन्दिर नजिकको बाटोमा बागलुङ बुर्तिवाङकी ३७ वर्षीया भिमकुमारी सिर्पालीमाथि आक्रमण गरी सुनको सिक्री लुटिएको थियो।
भिमकुमारी सवार बा.५२ प.१३९२ नम्बरको स्कुटरलाई बा.९३ प.३७६७ नम्बरको रातो–कालो स्कुटर र नम्बर नखुलेका अन्य दुई मोटरसाइकलमा आएका व्यक्तिहरूले ठक्कर दिई उनलाई घाइते बनाउँदै करिब ११ लाख रुपैयाँ मूल्यको सुनको सिक्री लुटेर भागेका थिए।
घटनापछि प्रहरीले खोजतलास जारी राख्दा कात्तिक २४ गते साँझ ६ बजे ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा स्कुटर फेला परेको थियो। सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गंगे तामाङलाई पक्राउ गरेको हो।
सोधपुछका क्रममा तामाङले अन्य पाँच जना साथी सहित भिमकुमारीको सुनको सिक्री लुटेको स्वीकारोक्ति दिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङबाट बा.९३ प.३७६७ नम्बरको स्कुटर र मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेलमा पठाएको जनाएको छ।